काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिनभित्र दल दर्ता गर्न समय दिएको छ । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते घोषणा भएको छ । सबै दलहरुले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा फागुन १८ भित्र दर्ता भइसक्नु पर्ने गरी समयसिमा तोकेको छ ।
दलहरूलाई नेपालको संविधानको धारा २७१ बमोजिम स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएको मानिनेछ । आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगमा दर्ता भएका दलहरू र जिल्लाजिल्लामा दर्ता भएका दलहरूले पनि स्थानीय तह निर्वाचन प्रयोजनका लागि तीन दिनभित्र दल दर्ता गराउनुपर्नेछ ।
आयोगको आग्रह अनुसार आयोगमा दर्ता भएका ११३ वटै स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ अनुसार आयोगमा दल दर्ता गराउनुपर्नेछ । आयोगले यसअघि जरिवाना गरेका दलहरूले पनि जरिवाना तिरेर दल दर्ता गराउन सक्नेछन् । आयोगमा अब दर्ता नहुने दलले स्थानीय निर्वाचनमा भाग लिन पाउँदैनन् ।
आयोगमा दल दर्ता गर्न राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको सङ्ख्या, राजनीतिक दलको सङ्गठनात्मक स्वरूप, राजनीतिक दल दर्ताका लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, राजनीतिक दलको आधिकारिक छापको नमुना र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्नेछ ।
आयोगले यसअघि निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका थिए । सबैभन्दा कम मनाङमा छवटा दल मात्रै दर्ता थिए ।