काठमाडौँ ।
सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएपछि केसीले बुधबार १४ औं दिन अनशन तोडेका छन्।
सरकार र केसी पक्षधर वार्ताटोलीबीच भएको बैठकले सम्झौताका १० बुँदा तय गरेको थियो। उक्त सम्झौतामा डा. केसीले सहमति जनाएपछि आजै हस्ताक्षर भएको हो। सम्झौता क्रममा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री उपस्थित रहेका थिए।
सम्झौता अनुसार डा. केसीले माग गर्दै आएको चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ताटोली तथा केसी वार्ताटोलीबीच बुधबार यस्तो सहमति भएको हो।
यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषदले यो विधेयक अध्यादेशका रूपमा जारी गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने बैठकको निर्णय रहेको केसी पक्षधरले बताएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न पाँच वर्षदेखि सत्याग्रह आन्दोलन गर्दै आएको डा. केसीको यो १४ औं अनशन हो।