अमेरिकाले दुई खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमाथिको आयातशुल्कमा दोब्बर वृद्धि गरेर दुई देशबीच जारी व्यापार विवादलाई थप जटिल बनाइदिएको छ ।
अमेरिकाले १० प्रतिशत रहेको आयातशुल्क २५ प्रतिशत पुर्याएपछि चीनले पनि त्यस्तै कदम चाल्ने बताएको छ । चीनले अमेरिकी कदममा खेद व्यक्त गर्दै आवश्यक प्रतिरोधी कदम चाल्ने बताएको छ । यो कदम वाशिङ्टनमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू बीच व्यापार सम्झौता गर्ने प्रयास भइरहँदा चालिएको हो ।
केही समय अगाडि मात्रै अमेरिका र चीन सम्झौताको नजिक देखिएका थिए । चीनको व्यापार मन्त्रालयले आफ्नो वेबसाइटमा अमेरिकी कदमको पुष्टि गरेको छ । चिनियाँ र अमेरिकी पक्षले सहयोग र सल्लाह गरेर यो समस्या समाधान गर्न मिलेर काम गर्नेमा आफू आशावादी रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिका र चीनको व्यापार विवादले विश्व अर्थतन्त्रलाई असर गर्ने देखिएको छ र व्यवसाय एवम् ग्राहकहरूका बीच अनिश्चितताको वातावरण सिर्जना गरेको छ । बिहीवार ट्रम्पले आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङबाट ’सुन्दर पत्र’ प्राप्त गरेको र फोनमा कुराकानी हुनसक्ने बताएका थिए ।