सुडानको सङ्क्रमणकालीन सैन्य परिषदले तीन वर्षभित्र नागरिक सरकार निर्माण गर्न विपक्षी दलहरूसँग सहमति भएको घोषणा गरेको छ ।
घोषणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सेनाका अधिकारीहरू विपक्षी गठबन्धनका प्रतिनिधिहरूसँगै देखिएका छन् । लेफ्टिनेन्ट जनरल यासेर अल अटाले अब विधान परिषद गठन हुने र त्यसमा विपक्षी गठबन्धनको पनि दुई तिहाइ सिटहरू रहने बताए ।
सत्ता बाडफाँटका विषयमा २४ घन्टाभित्र सम्झौतामा हस्ताक्षर हुने भनिएको छ । राष्ट्रपति ओमार अल बाशिर सत्ताच्युत गरिएपछि सुडानमा सैन्य परिषदले शासन गरिरहेको छ । त्यसअघि प्रदर्शनकारीहरूले तत्काल नागरिक सरकार गठनको माग गर्दै प्रदर्शनहरू चर्काएका थिए ।
प्रदर्शनहरू अझै रोकिएका छैनन् । खार्तुममा प्रदर्शन रोक्न गरिएको कारबाहीमा कम्तीमा छ जनाको ज्यान गएको छ । तर सैन्य परिषदले त्यो कारबाहीमा सेनाको कुनै हात नरहेको बताएको छ ।