प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले काठमाडौँमा क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान शुरुवात गरेको छ ।
नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय समितिले जोरपाटीमा आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले हरेक स्थानमा पुगेर नागरिकका कुरा सुनिने बताए।
सरकार संविधानविपरीत प्रेस स्वतन्त्रता तथा मानव अधिकारलाई कुण्ठित गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलले खबरदारी गरिरहने उनले बताए ।
वैशाख २५ गते बाट शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गते सकिनेछ । दोस्रो चरणको जागरण अभियान बिपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि असोज ७ गतेसम्म गरिने छ ।
तेस्रो चरणको जागरण अभियान पुस ७ गते शुरु गरी मेलमिलाप दिवसका अवसरमा पुस १६ गते समापन गर्ने नेपाली काङ्ग्रेसले जनाएको छ ।