इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिरिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् ।
करिब ५ घण्टासम्म जारी रहेको झडपमा ६ जनाको मृत्यु हुनुको साथै करिब २ सय भन्दा बढी घाइते भएका जाकार्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको छ । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
जाकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोको निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकहरुले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए ।
सत्तासिन राष्ट्रपति विडोडोले ५५दशमलव ५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी हुनुभएको त्यहाँको निर्वाचन ्आयोगले जनाएपछि उहाँको विरोधमा प्रर्दशनकारीहरुले प्रर्दशन शुरु गरेका थिए ।
निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४ दशमलव ५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ ।
निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मान्नुभएको थिएन । उहाँले पाँच वटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिनुभएको छ । यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।