‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्याको बदला लिने चेतावनी दिएको छ ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा घिमिरेलाई सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको भन्दै जघन्य हत्याको बदला जनताले उचित समयमा लिने उल्लेख छ ।
यस्तै विप्लवले घिमिरेको हत्याको छानबिन गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ । जस अनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ भने १२ गते देशव्यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।
उसले सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेष्टा गरेको आरोप लगाएको छ ।