मन्त्री अर्यालद्वारा सगरमाथाको उचाइ मापन गर्न गएका टोलीलाई स्वागत

आजभोलि

मन्त्री अर्यालद्वारा सगरमाथाको उचाइ मापन गर्न गएका टोलीलाई स्वागत

सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोली बिहीबार काठमाण्डौ फर्किएको छ ।

नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत सानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।

यसैबीच सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेकी न्छ ।

मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फूलमाला र टिकाले स्वागत गरेका हुन् ।

त्यस अवसरमा सगरमाथाको सफल आरोहणको उपलक्ष्यमा मन्त्री अर्यालले टोलीका सबै सदस्यहरूलाई मिठाइ खुवाएर खुशी बाँडेका थिए । त्यस अवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक आफ्नै साधान स्रोतमा सगरमाथाको उचाइ मापन गर्ने कार्य गरेको भन्दै यो सबैका लागि गौरवको कुरा भएको बताईन् ।

अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन। उनले आरोहणको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाइ प्राप्त हुने बताईन् ।

गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर गएको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर मै पुगेर थप हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा सगरमाथा आरोहणका बारेमा जानकारी दिँदै टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पूरा गरेर फर्किएको जानकारी दिए। जेठ ८ गतेका दिन बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो टोली १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा मापन कार्य गरेर बिताएको जानकारी दिए ।

फर्कने क्रममा निकै कष्ट समेत ब्यहोर्नुपरेको सरकारी प्राविधिक टोलीलाई गाइड गरिरहेको पिक प्रमोशन प्रालीका टोली प्रमुख छिरिङ जाङ्बु शेर्पाले बताए । ठूलो जोखिमका बावजुद सकुशल फर्किन सफल भएको उनले बताए।

टोलीमा सहभागी एकजनाको अक्सिजन सकिएका कारण धेरै समस्या परेको उनले बताए । तर आफू २० वर्षदेखि गाइडको कार्यमा खटिरहेका कारण टोलीलाई कुशलतापूर्वक आरोहण र अवतरण गराउन सफल भएको उनको भनाइ थियो ।

प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्न गएका थिए। जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गरेका थिए भने प्रमुख गौतम र कार्कीले सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको कार्य गरेका थिए।

यता पिक पर्मोशन प्रालिका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्यावउन मद्दत गरेका थिए। आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका थिए।

कार्यक्रममा मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण कामबाट फर्किएपछि अब प्राविधिक काममा अगाडि बढ्ने जानकारी दिईन् ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको हो ।

राष्ट्रिय गौरव र अन्तराष्ट्रिय चासोको रूपमा रहेको सगरमाथाको उचाइ मापन कार्य परम्परागत विधि तथा आधुनिक विधि एवं स्थलगत भू सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको बताइएको छ ।

सगरमाथाको सफल आरोहण भइ तथ्यांक संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्यांकहरू प्राप्त हुने क्रममा रहेकोले सम्पुर्ण तथ्यांकहरू प्राप्त भएपश्चात् तथ्यांकहरूलाई प्रशोधन गरी परिशुद्ध उचाई विश्व सामु प्रस्तुत गर्न नापी विभाग सक्षम रहेको जानकारी दिइएको छ ।

सगरमाथा मापनसम्बन्धी केही तथ्यहरू

• नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोगमा सगरमाथाको उचाइ मापन गर्न गइरहेको छ । 

• संसारको सबैभन्दा अग्लो चुचुरोको उचाइ करिब १७० वर्षअघि मापन भएको तर यो वर्ष हामी मापन गर्दैछौँ।

• सन् २००५ मा चीनले नेशनल ब्यूरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४.४३ मिटर उचाइ मापन गर्‍यो । 

• अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाइ रहेको उल्लेख गर्‍यो । 

• इटालीले सन् १९९२ मा ८८४८.६५ मिटर उचाइ मापन गर्‍यो । 

• सन् १९७५ मा चीनले ८८४८.१३ मिटर मापन गर्‍यो । 

• सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटरको उचाइ मापन गर्‍यो र हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाइ पनि मान्दै आएका छौँ । 

• सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाइ मापन गर्‍यो । तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो । 

• नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकी लगायत काठमाण्डाै वरिपरीका डाँडाहरूलाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाइ बढेको पाइयो । 

• वि.सं. २०७२ सालको भूकम्पका बेला सगरमाथा बेस क्याम्पमै १२ जनाको मृत्यु भयो । 

• संसारभर यतिबेला सगरमाथाको उचाइको विषयलाई लिएर विभिन्न प्रश्न उठेका छन् । 

• यसै सन्दर्भमा भारतले यसको पछिल्लो उचाइ मापन गर्ने इच्छा व्यक्त गर्‍यो । त्यति नै बेला नेपालले नाकाबन्दीको सास्ती खेप्नुपर्‍यो  । 

• त्यसपछि नेपाल सरकार आफैँले सगरमाथाको उचाइ मापन गर्ने भनेर घोषणा गर्‍यो । फलस्वरूप हामी आफैँले सगरमाथाको उचाइ आफैले मापन गर्दैछौँ।

• यसै सन्दर्भमा संसरभारका विभिन्न राष्ट्रका नाप नक्सासम्बन्धी वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय कार्यशालाको सुझावअनुसार सगरमाथाको उचाइ जीएनएसएस प्रविधिले नाप्ने निर्णय भयो ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !