नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र नरुचाउने तत्वको योजना कुनै हालतमा सफल नहुने बताएका छन् ।
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकामा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको विरुद्धमा केही समूह लागि परेको भए पनि त्यो सफल नहुने बताएका हुन् ।
गणतन्त्र प्राप्तिपछि सिङ्गो मुलुकको विकासले गति लिए पनि केही व्यक्ति र समूहका स्वार्थ पूरा नभएकाले त्यो शक्ति सक्रिय बन्न थालेको उनको भनाइ थियो । प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारसँग वार्ता गरेर मूलधारको राजनीतिमा आएर मुलुक निर्माणमा जुट्न आग्रह गरे ।
गणतन्त्र प्राप्तिपछि बनेको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेकाले अब गरिने आन्दोलन नेपाली जनाताको भावना विपरीत हुने उनको भनाइ थियो ।