अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट मूलरले राष्ट्रपति डोनल्ड ट्रम्पलाई आपराधिक अभियोग लगाउने बाटो नभेटिएको तर उनलाई सफाइ भने नदिइएको बताएका छन् ।
सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा सम्भावित रुसी हस्तक्षेप तथा ट्रम्प र रुसबीच रहेको भनिएको सम्बन्धबारे गरिएको अनुसन्धानबारे पहिलोपल्ट बोल्दै मूलरले यस्तो बताएका हुन् । तर उनले आफ्नो प्रतिवेदनले ट्रम्पलाई सफाइ नदिएको र बहालवाला राष्ट्रपतिलाई अभियोग लगाउन कानुनी व्यवस्थाले रोकेको बताएका छन् ।
मूलरको ४ सय ४८ पृष्ठ लामो प्रतिवेदनमा ट्रम्पको निर्वाचन अभियान रुससँगको अपराधिक षड्यन्त्रसँग जोडिएको भनेर स्थापित नभएको उल्लेख गरेको छ । यद्यपि त्यसमा १० वटा त्यस्ता घटनाहरू उल्लेख गरिएको छ जहाँ ट्रम्पले अनुसन्धानमा अवरोध पार्ने प्रयास गरेको देखिन्छ । मूलरको भनाइलगत्तै प्रतिक्रिया जनाउँदै राष्ट्रपति ट्रम्पले आफू निर्दोष रहेको र अनुन्धान सकिएको आशयको ट्वीट गरेका छन् ।