आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न नसक्दा पछिल्लो समय बारा र पर्साका सिमेन्ट उद्योग संकटमा पर्न थालेका छन् ।
आफ्नो खानी नभएका उद्योगहरुले सम्पूर्ण कच्चा पदार्थ आयात गर्नुपर्ने र ढुवानी लागत बढ्ने भएकाले अन्य उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा बारा पर्साका सिमेन्ट उद्योग संकटमा पर्न थालेका हुन् ।
बारा र पर्सामा विश्वकर्मा, अम्बे, जगदम्बा, त्रिशक्ति लगायतका १३ उद्योग सञ्चालनमा छन् । बारा पर्सामा रहेका उद्योगहरुबाट दैनिक २० हजार टन सिमेन्ट उत्पादन हुने गरेपनि हाल घटेर करिब १० हजार टन बराबर उत्पादन भई बजारमा जाने गरेको छ ।
एक सय २५ टन उत्पादन क्षमता भएका कतिपय साना सिमेन्ट उद्योगहरुले उत्पादन समेत न्यून मात्रामा गर्दै आएका छन् ।
त्यस्तै एउटा प्लान्टबाट तीन सय टन उत्पादन गर्ने उद्योगहरु सातामा एक दुई दिन मात्र चल्ने गरेका छन् । जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले रक्सौल भन्दा एक सय २५ किलोमिटर टाढाबाट कच्चा पदार्थ ल्याउँदा लागत बढ्न गई नेपालमं खानीबाट सञ्चालित उद्योगहसँग बारा पर्साका उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने बताए ।
अध्यक्ष साहले भारतीय कार्गो रेल वीरगंज सुख्खा बन्दरगाहसम्म आउने भएकोले भारतबाट आयात गरिने कच्चा पदार्थको जग्गा व्यवस्थापन गर्न सरकारसँग माग गरे।
बारा र पर्साका सिमेन्ट उद्योगले सिमेन्ट बनाउने कच्चा पदार्थ भारतबाट र जिप्सन भुटानबाट आयात गर्ने गरेका छन् ।