दिवंगत मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पोखरामा ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना भएको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बैठक बसेर माइन्युटमा सही गरेर हिड्ने खालको प्रतिष्ठान नभई जीवन्त प्रतिष्ठान हुने दाबी गरे ।
देशलाई केन्द्र भागमा राखेर समृद्धिको बाटोमा अविचलित रहेका आफ्नो क्याबिनेटका सक्षम मन्त्री गुमाउनु पर्दा ठूलो क्षति पुगेको उनले बताए । इमान्दार कार्यकर्ता र जिम्मेवार मन्त्रीको रुपमा आफूले चिन्ने गरेकोले स्वच्छ आचरण भएको रवीन्द्रलाई बदनाम मात्र गराउन खोजिएको उनले बताए ।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेकै बेला अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
प्रतिष्ठानको तदर्थ समिति अध्यक्षमा रवीन्द्र पत्नी विद्या भट्टराई अध्यक्ष रहेकी छन् । स्थापनाको क्रममा ३५ सदस्यीय तदर्थ समिति गठन भएको महासचिव धनराज आचार्यले जानकारी दिए । प्रतिष्ठानका लागि ४१ सस्दयीय सल्लाहकार समिति गठन भएको छ ।