सुडानमा विपक्षी कार्यकर्ताले सैनिक परिषदको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन् ।
प्रदर्शनकारीमाथिको हिंस्रक दमनका कारण सेनामाथि भरोसा गर्ने अवस्था अब नरहेको विपक्षी कार्यकर्ताले बताएका छन् ।
विपक्षी कार्यकर्ताले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि भएको हिंस्रक आक्रमणमा कम्तिमा १०० जना मानिस मारिएको जनाएका छन् । राजधानी खार्तुममा नाइल नदीबाट ४० शब निकालिएको विपक्षीहरुले बताएका छन् ।
विपक्षी कार्यकर्तासँग सम्बन्ध राख्ने सुडानको चिकित्सकहरुको एक कमिटीले फेसबुकमा ४० जना शव नाइल नदीबाट निकालिएको जनाएको छ । सो कमिटीका एक सदस्यले बीबीसीलाई जनाए अनुसार उनी स्वयम्ले शवहरु देखेका हुन् । मारिनेको संख्या अहिले १०० पुगेको छ । नदीमा शव भेटिएका व्यक्तिलाई पहिला पिटिएको र त्यसपछि नदीमा फालिएको थियो ।
६ अप्रिलमा प्रदर्शनकारीहरुले ३० वर्ष लामो राष्ट्रपति उमर अल बशिरको सत्ता फालेका थिए । त्यसपछि अब सुडानको सत्ता कसको हातमा हुने भन्ने बारेमा प्रदर्शनकारीहरुले सेनासँग संवाद पनि गरेका थिए ।