विकिलिक्सका संस्थापक जुलियन असान्जलाई वासिङ्टनसमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा आगामी फेब्रुअरीमा पूर्ण सुनुवाई हुने बेलायती एक न्यायाधीशले बताएका छन् ।
अमेरिकाविरूद्ध जासुसी गरेको अभियोगमा बेलायती जेलमा रहेका असान्जले बेलायती अदालतले तोकेको जमानत शर्त उल्लङ्घन गरेको आरोपमा उनीवरूद्ध ५० हप्ताको जेल सजाय तोकिएको छ । अमेरिकाले असान्जलाई सुपुर्दगी गर्न दवाव दिँदै आएको छ भने बेलायतले यसबारे तत्काल कुनै जवाफ दिएको छैन ।
वासिङ्टनले ४७ बर्षीय असान्जले सन् २०१० मा अमेरिकी सैनिक तथा कूटनीतिक क्षेत्रका वर्गीकृत फाइलहरू सार्वजनिक गरेर अमेरिकाविरुद्ध जासुसी गरेको दावी गर्दै आएको छ । अमेरिकाको अफगानिस्तान र इराकमा भएका वम आक्रमणबारे विकिलिक्सले प्राप्त गरेका सूचनालाई सार्वजनिक गरेको आरोप वासिङ्टनले असान्जमाथि लगाउँदै आएको छ ।