अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन् ।
उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत गरे । तर उनले त्यो काम ठूलो गल्ती भएको दोर्होयाएका छन् ।
मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ । उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ । तेहरानले भनेको छ उक्त अमेरिकी ड्रोन आफ्नो हवाई क्षेत्रमा घुसेकाले उसले जानाजान नै त्यसलाई खसालिदिएको हो ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत माजिद तख्त राभान्चीले उक्त ड्रोन विमान स्पष्ट रूपमा जासुसी कारबाहीमा संलग्न रहेको र त्यसले अन्तर्रा्ष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेको बताए ।
संयुक्त राष्ट्रसंघका महासचिव एवं सुरक्षा परिषदलाई एक पत्र लेख्दै राभान्चीले इरानले युद्ध नखोजेको तर आफ्नो क्षेत्रमा गरिने दुश्मनी कार्य रोक्ने अधिकार आफूसँग सुरक्षित रहेको बताएका छन् । तर राष्ट्रपति ट्रम्पले चाहिँ उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको दोर्होयाएका छन्।