नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन दिन नहुने बताए ।
भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जुनसुकै हालतमा पनि महानगरमा निर्माण हुने भनिएको रंगशाला बनाउनका लागि महानगरबासीले जोड दिनुपर्ने बताए ।
सोही अवसरमा दाहालले “महानगरलाई नमूना बनाउन सुझाव दिँदै भ्रष्टाचाररहित महानगर बनाउनुपर्छ”, भने । यहाँको विकास समग्र देशसँग जोडिने भएकाले सोहिअनुसार काम गर्न उनको आग्रह थियो ।
सो अवसरमा महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाको नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् । महानगरले ल्याएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि आर्थिक वर्ष २०७६र७७ का लागि रू तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार बजेट विनियोजन गरेको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तावित बजेट प्रस्तुत गरेकि थिइन् ।
प्रस्तावित नीति तथा कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि महानगरले ५ करोड रूपैयाँ र महानगरका २९ २९ वटा वडाहरूले ५ लाखको दरले १ करोड ४५ लाख छुट्याएको छ । सो अवसरमा महानगरमा उत्कृष्ठ काम गर्ने वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।