दक्षिणी सोमालियाको एउटा होटलमा भएको हमलामा एक टेलिभिजन पत्रकारसहित कम्तीमा २६ जना मारिएको समाचारहरूमा जनाइएको छ ।
हमलामा ज्यान जोगाउन सफल भएका र अधिकारीहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले विस्फोटक पद्धार्थहरूले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए ।
त्यसपछि बन्दुकधारीहरूले होटलको भवनमा हमला सुरु गरेका थिए । पत्रकार होडन नल्य र उनका श्रीमान ज्यान गुमाउनेहरूमध्ये रहेको बताइएको छ । इस्लामिक समूह अल(शबाबले हमलाको जिम्मेवारी लिएको छ ।
अधिकारीहरूका अनुसार चारजना आक्रमणकारी मारिएपछि हमला समाप्त भएको छ । क्षेत्रीय नेताहरू र जातीय समुदायका अगुवाहरू होटलमा थिए । र हमलाका बेला त्यहाँ उनीहरूले आसन्न क्षेत्रीय निर्वाचनबारे छलफल गरिरहेका थिए ।
एकजना सुरक्षा अधिकारी अब्दी धुहुलले एएफपी समाचार संस्थालाई बताए अनुसार एकजना पूर्व स्थानीय प्रशासनमन्त्री र एकजना सांसद मारिनेमध्ये छन् ।
स्थानीय सञ्चारमाध्यमहरू र सोमाली पत्रकार महासंघले ४३ वर्षीया नल्य र उनका श्रीमान फरिद मारिनेमध्ये रहेको जनाएका छन् । नल्यले सञ्चालन एवम् उत्पादन गर्ने एउटा अङ्ग्रेजी भाषाको कार्यक्रम ’इन्ट्रीगेसन टिभी’ले भने अझै ती समाचारहरूको पुष्टि गरेको छैन । नल्यले सोमालियाभित्रको जीवन र देशबाहिर बस्ने सोमाली समुदायबारे आफ्नो कार्यक्रमहरू केन्द्रित गर्थिन् ।
उनको पछिल्लो शृङ्खला सोमालियाका प्रेरणादायी महिला उद्यमीहरू र सहरमा गर्न सकिने क्रियाकलापहरूबारे केन्द्रित थियो ।