बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफलता प्राप्त गर्ने क्रम जारी रहेको छ ।
प्रधानमन्त्री जोन्सनले आउँदो अक्टोबर १५ मा आम चुनाव गर्ने प्रस्ताव पुनः हाउस अफ कमन्सबाट स्वीकृत हुन सकेन । जोन्सनले चाँडो आम चुनाव गर्नका लागि संसदमा लगेको यो दोस्रो प्रस्ताव हो ।
यसअघि गएको हप्ता बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएका प्रधानमन्त्री जोन्सनले लगत्तै आम चुनावको प्रस्ताव गरेका थिए । त्यस बेला पनि उनको प्रस्ताव स्वीकृत हुन सकेको थिएन ।
चुनाव सम्बन्धी प्रस्ताव पारित हुन दुई तिहाई सांसदको मत अर्थात ४३४ मत चाहिन्छ । तर जोन्सनले ल्याएको प्रस्तावको पक्षमा २९८ सांसदले मत दिए । विपक्षमा ४६ मत परेको छ । बाँकी सांसद मतदानको प्रक्रियामा सहभागी नै भएनन् । सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले आफूले ल्याएको नो–डिल ब्रेक्सिट सम्बन्धी विधेयक पारित हुन नदिएपछि प्रधानमन्त्री जोन्सनले आम चुनावको प्रस्ताव संसदमा पेश गरेका हुन् । तर त्यो प्रस्ताव पनि दुईपटक असफल भएको हो ।
अब पाँच हप्ताका लागि बेलायती संसद निलम्बित हुँदैछ । प्रधानमन्त्री जोन्सनले नै संसद निलम्बनको प्रस्ताव गरेका थिए र महारानीले त्यसलाई स्वीकृत गरेकी थिइन् ।