आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ ।
आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ ।
आईएसले एक भिडियो सार्वजनिक गर्दै ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको जानकारी दिएको हो । हत्या गरिएकाहरु सबै पुरुष छन् । यद्यपि उनीहरुको परिचय भने खुलेको छैन ।
आईएसका अनुसार उनीहरुलाई उत्तरपूर्वी बोर्नो राज्यबाट नियन्त्रणमा लिइएको थियो । आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर महिनाको अन्त्यतिर सिरियामा मारिएका थिए ।
करिब दुई महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ‘प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो। त्यसयता उसले अभियानको ब्यानरमुनि विभिन्न देशमा आक्रमण तीव्र बनाएको दाबी गरेको छ ।
नाइजिरियाको इस्लामिक समूहको एउटा खेमा बोको हरामले अहिले इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) को ब्यानरमा लडाइँ गरिरहेको छ । गत वर्ष आईएसडब्ल्यूएपीले स्वास्थ्यकर्मीको हत्या गरेका थिए ।