भारतको दिल्लीमा नागरिकता संशोधन कानुन सीएएको विरोधमा चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएको छ।
बुधबारसम्म उत्तर–पूर्वी दिल्लीमा भड्किएको हिंसामा २२ जनाले ज्यान गुमाइसकेका छन् भने कम्तिमा २ सय ५० जना घाइते भएका छन्।
यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि बुधबार शान्त हुन आह्वान गरेका छन्।
उनले आन्दोलनकारी र अन्य सरोकारवालाहरु सबैलाई आग्रह जतिसक्दो चाँडो अवस्थालाई सामान्य बनाउन पनि गरेका छन् ।
यसअघि आजै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसात्मक अवस्थालाई नियन्त्रणका लागि सेना परिचालन गर्न सिफारिस गरेका थिए।
जीटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेमा प्रदर्शनकारी र प्रहरी रहेका छन् ।
आन्दोलनको सर्वाधिक प्रभाव परेको नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीले सबै विद्यालय बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।
हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।
प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको छ । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।
भारतमा जारी गरिएको नागरिकतासम्बन्धी यो संशोधित कानून केही समय अगाडि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विवादमा परेको थियो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सो कानूनको विरोध हुदाँहँुदै पनि यसअघिको आन्दोलन मत्थर भइसकेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको मौका पारेर फेरी शुरु भएको आन्दोलनले अहिले ठूलो हिंसात्मक रुप लिएको हो ।
यो हिंसात्मक आन्दोलनलाई पछिल्लो दशककै सबैभन्दा ठुलो हिंसात्मक आन्दोलनको रुपमा लिइएको छ ।