अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढेपछिराष्ट्रिय संकटकाल घोषणागरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्याउन उनले राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् ।
ट्रम्पले संघीय सरकारले आपतकालीन राहत कोषमा ५० अर्ब डलरसम्म सहयोग गर्न सक्ने बताए । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो ।
उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरेका छन् । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनले सुझाव दिएका छन् ।
अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । ह्वाइट हाउसबाट संकटकाल घोषणा गर्दै ट्रम्पले आगामी आठ हप्ता महत्वपूर्ण रहेको बताए ।
अमेरिकामा कोरोना भाइरसका कारण ४० जनाको मृत्यु भएको छ भने १७ सय संक्रमित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोना भाइरसबाट विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भएका छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । यो १ सय २३ देशमा फैलिएको छ । गत डिसेम्बर अन्तिम साता चीनमा देखिएको यो भाइरसले अहिले युरोपमा महामारीको रुप लिएको छ ।