विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् ।
टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई ’विश्वव्यापी महामारी’ को सङ्ज्ञा यसअघि नै दिइसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ । प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्वपूर्ण हुने उसले बताएको छ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको छ । रोगका सम्भावित उपचार उक्त बैठकको एजेन्डामा छ ।
विश्वका अग्रणी अर्थतन्त्र तथा वित्तीय संस्थाहरूले संसारलाई लामो आर्थिक मन्दीबाट जोगाउन विशाल परिमाणमा पैसा हाल्न आफूहरू तयार रहेको बताएका छन् । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ऐतिहासिक कदम चाल्दै कर्पोरेट ऋण किनिदिने तथा घरेलु सापटी प्रवाहलाई भरथेग गरिदिने बताएको छ । जर्मनीले आफ्नो अर्थतन्त्रमा परेको हानिलाई कम गर्न ८०० अर्ब डलर खर्च गर्ने बताएको छ ।