एल बी बिद्रोहीको विश्लेषण
कोरोना संक्रमण हुन नदिन नेपालमा लकडाउन गरेको एक हप्ता पार गरेको छ । देश ठप्प छ । यातायात लगायतका सबै सेवा बन्द छन् । बाहिरबाट आउने वा जाने सबै उडान स्थगित छन् । एक प्रकारको कर्फयु लागेको छ । लकडाउन सफल नै भइरहेको छ । जनताले पालना गरेकै छन् ।
नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि भारतबाट नेपाल आउने मजदुरको संख्या उल्लेख्य रह्यो । एक दिन भन्दा कम समय दिएर गरेको लकडाउन भारतबाट नेपाल आइपुग्न प्रशस्त समय होइन । यस भन्दा अघि भारतले गरेको जनता कर्फयुको कारण पनि घर आउन चाहाने नेपालीले घर आउन सकेनन् । जसले ठूलो संख्यामा रहेका मजदुरले पीडादायी समस्याको सामना गर्नु पर्यो ।
भारतबाट नेपाल आएका लाखौ नेपाली ४८ घण्टा भन्दा बढी सिमाना रोकिए । नेपाल सरकारले उनीहरुमाथि बल प्रयोग समेत भयो । बालबालिका सहित सिमामा आइपुगेको नेपाली कामदारमाथि सरकारले बल मात्र हैन अभद्र व्यवहार समेत गर्यो । खुला अकासमुनी भोकै बस्न बाध्य भए ।
सामाजिक संजालमा चर्को बिरोध भएपछि सरकारले उनीहरुलाई सीमावारी आउने अनुमति त दियो । तर महेन्द्रनगर आएर पनि विचल्लीमा परे । जेनतेन आफ्नो घरसम्म पुगे । तर उनीहरुमाथि स्वास्थ्य चेकजाँच केही भएन । तापक्रम नपेर छोडिदियो । जसले गाउँघरमा कोरोनाको ठूलो खतरा निम्त्याएको छ ।
अझ उदेक लाग्दो, पीडादायी समाचार त के भने सयौं मजदुरहरु दिल्लीबाट एक हप्ता लगाएर नेपालको सिमाना आइपुगे । तर उनीहरुलाई पनि रोकेर थप तमासा देखायो । पीडा थप्यो । राज्यले नागरिकप्रति गैरजिम्मेवारीपन देखायो । उनीहरुमाथि घुसपैठियाको भन्दा पनि तल्लोस्तरको व्यवहार गरियो । जुन जति निन्दा गरेपनि कम हुन्छ ।
यस्ता अरुतिर कम छन् । तर सुदूरपश्चिममै यस्ता घटना किन हुन्छन् ? किन सिंहदरबार अनुदार बन्छ ? किन सिंहदरबारले सुदूरपश्चिमलाई अलग भूभाग झै व्यवहार गर्छ ? दाचुर्लामा नदी तरेर नेपाल आएकामाथि किन घुसपैठियाको जस्तौ व्यवहार गर्यो? आदीइत्यादी प्रश्नहरु सबैको मनमा उब्जिरहेका छन् ।
अहिलेको प्रशंग, धार्चुलामा रोकिएका नेपालीहरुको बारेमा हो । भारतका विभिन्न शहरबाट नेपाल फर्कन लगभग ५ सय नेपाली मजदुरहरु भारतको सिमानामा बसीरहेका छन् । नेपाली सिमाना तर्फ दार्चुलाको खलंगामा सिमा बन्द गरिएको छ । लगभग ५ दिनदेखि यति धेरै संख्यामा नेपालीहरु बेहाल अवस्थामा सडकमा दिन बिताई रहेकाछन् । पारीबाट ठूलो स्वरले बोलाउदा वारी नेपालमा सुनिन्छ । तर त्यहा त नारा जुलुस नै भयो । तर पनि नेपाल सरकारले सुनेन् । सिडियो साप वारीबाट पारी भारतमा रहेका नेपालीको रमिता हेरेर बसे । यो भन्दा लज्जाको विषय अरु के नै हुन सक्छर ? तर भारत सरकारले उनीहरुको खानेबस्ने व्यवस्था मिलाएको छ ।
चैत १७ गते एक जना नेपाली उर्लदो महाकाली नदीमा पौडेर नेपाल आए । धन्नै नदिले बगाएका उनी नेपाल आएपछि प्रहरीले नियन्त्रण लिए । मानौ, उनी अपराध गरेर नेपाल आएका हुन । यसरी आफ्नो देश प्रवेश गर्दा पनि आफ्नै सरकारले गरेको व्यवहारको ठूलो आलोचना भइरहेको छ । जुन एक नागरिकका लागि पीडाको विषय हो ।
आजको मितिसम्म धार्चुलामा रहेका ती नेपाली नागरिकको बारेमा सरकारले चासो नै लिएन । नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकमा प्रशंग नै उठेन । वा त्यो कुनै विषय नै हैन, भन्ने जस्तो गरी थाहा नपाए जस्तो गरिरहेको छ सरकार । ती ५ सया जना नेपाली ल्याउन किन यति धेरै कष्ट? के कारणले उनी नेपाल आउन सक्दैनन्? के उनी मजदुर भएकाले प्राथमिकतामा नपरेका हुन्? वा उनीहरु दोस्रो दर्जाका नागरिक हुन?
दार्चुला सदरमुकाम खलंगामा एक भाग तीन दर्जन माध्यमिक विद्यालयहरु छन् । क्यम्पासहरु छन् । अरु सरकारी तथा सार्वजनिक भवनहरु छन् । ग्राहक विहीन होटलहरु छन् । जति पनि व्यवस्था गर्न सकिन्छ । तर सरकारको इच्छाशक्ति र तत्परता छैन । उनीहरुलाई नेपाल ल्याउनु नै छैन । त्यसकारण बाहानाबाजी गरिरहेको छ ।
आज अमेरिकाले नेपालबाट ३०२ आफ्ना नागरिक चार्टर गरेर अमेरिका लगेको छ । नेपाल सरकारले चाइनाको बुहानमा रहेका नेपाली विद्यार्थीहरुको जहाजबाट नेपाल ल्याएको छ । चीनको बुहानबाट जहाज चार्टर गरी नेपाल ल्याउन सक्ने सरकारले लगभग एक किलोमिटर टाढा रहेको नेपालीलाई वारी ल्याउन सक्दैन? न बस बुक गर्नुपर्छ । न त पैशा नै लाग्छ । सिमाना खोलेपछि पूल तरेर आफै नेपाल आइपुग्छन् । किन सरकार यति उदासिन भइरहेको छ ? किन थाहा नपाएजस्तो गरिरहेको छ ? किन आफ्नै नागरिकको रमिते बनीरहेको छ ? यो नै उदेक लाग्दो विषय बनेको छ ।
धार्चुलामा रहेकालाई त ल्याउन नसक्ने सरकारले कालापानी, लिपुलेक र लिम्यिाधुरा फर्काउला भनेर विश्वास गर्नु मुर्खता हो । दिवानापन हो । भ्रम हो । सरकारले सुदूरपश्चिमलाई हेर्ने नजरियाको परिणाम हो, यो । यदि यो घटना झापा वा चितवनमा भएको भए उहिले नै समाधान भइसक्थ्यो । यो भौगोलिक विभेदको एक अर्को उदाहरण हो ।
(फोटोः कृष्ण महराको फेसबुकबाट साभार)