चिनियाँ अधिकारीले वुहानमा कोरोनाका कारण थप १२ सय ९० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेका छन् । चीनमा कोरोनाभाइससका कारण मृत्यु भएकाको यो संख्या सार्वजनिक गरिएको थिएन ।
यो तथ्यांक सार्वजनिक भएसँगै चीनमा कोरोनाभाइरसका कारण मृत्यु भएकाको संख्या लुकाएको आशंकालाई पुष्टी गरेको छ । चीनलाई कोरोनाभाइरसका कारण मृत्यु भएकाको वास्तविक आकडा सार्वजनिक नगरेको आरोप लाग्दै आएको छ ।
अप्रिल १७ सम्म चीनमा ३३ सय ४२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । शुक्रबार मृतकको संख्या १२ सय ९० थपेपछि अब चीनमा मृतकको संख्या ४६ सय ३२ पुगेको छ । पहिले वुहानमा २५ सय ७९ को मृत्यु भएको रिपोर्ट सार्वजनिक गरिएको थियो । अब वुहानमा मृतकको संख्या ३८ सय ६९ पुगेको छ ।
चिनिया अधिकारीहले यी मृत्युहरू शुरूमा गणना नगर्नुको कारण उनीहरू घरमै मरेको बताएका छन् । स्वास्थ्यकर्मीहरु मृतकको संख्या गणना गर्नुभन्दा पनि उपचारमा नै केन्द्रित भएकाले यस्तो भएको उनीहरूको दाबी छ ।
चीनमा कोरोनाकोका मृत्यु हुनेको तथ्यांक परिवर्तन गरेको यो पहिलोपटक भने होइन । जनवरी र फरबरीमा पनि उनीहरुले तीनपटक तथ्याकं परिवर्तन गरेका थिए । यसरी समय समयमा मृतको संख्याबारे तथ्यांक परिवर्तन गरिनुले चीनले वास्तविक तथ्यांक लुकाएको आशंकालाइ थप पुष्टी गरेको छ ।
यसैबीच अमेरिकाको खुफिया एजेन्सीले कोरोनाभाइरस बजारबाट नभई चीनको ल्याबबाट फैलिएको हुनसक्नेबारे अनुसन्धान सुरु गरेको छ । यद्यपी यसबारे कुनै निष्कर्ष भने निकालिएको छैन ।
अमेरिकाले यो भाइरस बायो हतियार भएको कुरामा विश्वास गर्दैन तर अमेरिकाको खुफियाले कोरोनाभाइरस चीनको ल्याबमा उत्पादन गरिएको र दुर्घटनावश बाहिर आएको भन्ने सिद्धान्तबारे अनुसन्धान गरिरहेको छ ।
अमेरिकाले चीनको ल्याबमा दुर्घटनावश कोही व्यक्ति संक्रमित भएका कारण वा कमजोर ह्याण्डलिङका कारण कोरोना भाइरस फैलिएको हुनसक्ने सिद्धान्तको तथ्य जाँच गर्न शुरु गरेको छ ।