कोरोना भाइरस कहिल्यै पनि पूर्णरुपमा समाप्त नहुने चिनियाँ वैज्ञानिकले दावी गरेका छन् ।
कोरोना भाइरस सन् २००३ तिर फैलिएको सार्स नियन्त्रणमा आएजस्तो समाप्तै भएर जाने अवस्था नरहेको चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको रिपोर्टले जनाएको छ।
लक्षण नदेखिने संक्रमितहरुले भाइरस फैलाउने खतरालाई बढाइरहेको द हिलले प्रकाशित गरेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
एसिम्प्टोम्याटिक संक्रमितहरुले अन्जानमै भाइरस फैलाउने भएकोले यसको नियन्त्रणमा समस्या हुने शोधकर्ताहरुको दावी छ ।
कोरोनाको भाइरसको महामारी नियन्त्रणमा आएको चीनले घोषणा गरे पनि पुनः एसिम्प्टोम्याटिक संक्रमितका दर्जनौं केसहरु देखिरहेका छन् ।
कोरोना भाइरसलाई जरैदेखि उल्मुलन गर्न नसकिए यसले लामो समयसम्म महामारीको पुरावृत्ति गरिरहने चाइनिज एकेडेमी फर मेडिकल साइन्सेजको प्याथोजन बायोलोजीका निर्देशक जिन क्युइको भनाई छ ।
अमेरिकाको नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले पनि गत महिना कोरोना भाइरस मौसमी महामारी बन्ने खतरा रहेको चेतावनी दिएको थियो ।