फ्लोइडको हत्याका आरोपित शोभिनसँग साढे १२ लाख डलर धरौटी माग

आजभोलि

अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारीलाई पहिलो पटक अदालतमा उपस्थित गराइएको छ । अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ ।

आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताहरूले बताएका छन् । डेरेक शोभिनमाथि नियतविना हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीमाथि हत्यामा सघाएको आरोप लगाइएको छ । मे महिनामा भएको फ्लोइडको मृत्युको घटनाले विश्वव्यापी प्रदर्शनहरू निम्त्याएको छ भने प्रहरीमा पुनर्संरचनाको माग भइरहेको छ ।

श्वेत व्यक्ति शोभिनले मिनिअपलिसमा मे २५ तारिखमा फ्लोइडको गर्दनमाथि करिब नौ मिनेटसम्म टेकेका थिए । त्यसपछि उनी र बाँकी तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन् । टेलिकन्फरेन्समार्फत सोमवार अदालतमा उपस्थित भएका शोभिनले कुनै प्रकारको आग्रह गरेनन् । १५ मिनेट लामो सुनुवाइका क्रममा उनले केही भनेनन् ।

हातमा हतकडी लगाइएको अवस्थामा उनी सानो टेबुलमा बसिरहेका थिए । न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए । शोभिनका वकिलले धरौटी बापत माग गरिएको रकमलाई लिएर कुनै आपत्ति जनाएनन् ।

कैयौँ पटक स्थानान्तरण गरिएपछि ४४ वर्षीय शोभिन हाल ओआक पार्क हाइट्सस्थित एक कारागारमा राखिएका छन् । अर्को पटक जुन २९ तारिखमा उनलाई अदालतमा उपस्थित गराइनेछ । यसैबीच, फ्लोइड पहिला बस्ने गरेको टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा अन्तिम दर्शनका लागि छ घण्टा उनको शव राखिएको छ ।

मङ्गलवार ह्युस्टनमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ। मिनिअपलिस र फ्लोइड जन्मेको नर्थ क्यारोलाइना राज्यमा स्मृति कार्यक्रम भइसकेका छन् । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले फ्लोइडका आफन्तलाई सोमवार भेटेका छन् । बाइडनले पीडित परिवारको पीडा र चिन्तालाई सुनेको फ्लोइडको पारिवारिक प्रवक्ता बेन्जमिन क्रम्पले बताएका छन् ।

मास्क र पन्जा लगाएर सामाजिक दूरी कायम राख्दै मानिसहरूले श्रद्धाञ्जलि दिइरहेका छन् । गिर्जाघरमा एक पटकमा १५ जनालाई मात्रै जान दिइएको छ । फ्लोइडको मृत्युपछि अमेरिकामा जातीयताविरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दैछ ।

वाशिङ्गटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सान फ्रान्सिस्को लगायतका थुप्रै शहरमा ठूल्ठूला र्यालीहरूको आयोजना गरिएको छ।

  • २७ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !