भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी नोभेम्बरसम्म ८० करोड नागरिकलाई नि:शुल्क खानेकुरा दिने घोषणा गरेका छन्।
सोमबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको बताए। उनले महामारीको यो बेला सरकार गरिबको साथमा रहेको बताए।
‘आज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई दिवालीसम्म बढाउने निर्णय गरेको छ। संकटको यो घडीमा सरकार गरिबसँग छ। ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइनेछ,’ मोदीले भनेका छन्।
उनले जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले नै नि:शुल्क कोरोनाभाइरसविरूद्धको खोप पनि उपलब्ध गराउन घोषणा गरे। अबदेखि राज्य सरकारहरूले खोपमा पैसा खर्च गर्नु नपर्ने पनि उनको भनाइ छ।