काठमाडौं । उपरथी प्रेम शाहीमाथि छानबिनका क्रममा उपरथी बाबुराम श्रेष्ठ नेतृत्वको ‘कोर्ट अफ इन्क्वायरी’ले बिहीबार घरमा पुगेर खानतलासी गरेको छ। उरपथी श्रेष्ठको नेतृत्वमा गएको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ भंगालस्थित शाहीको घरमा पुगेर खानतलासी गरेको स्रोतले बतायो। ‘उहाँहरू पुरै प्रक्रिया पुर्याएर आउनुभएको रहेछ। उहाँहरूसँग वरिष्ठ सईको नेतृत्वमा नेपाल प्रहरी र जनप्रतिनिधि पनि आउनुभएको थियो,’ शाहीनिकट स्रोतले भन्यो।
खानतलासीमा बुढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ पनि साक्षीका रूपमा थिए। ‘मलाई प्रहरीले बोलाएपछि त्यहाँ पुगेको हुँ। पुगेपछि हाम्रै रोहबरमा खानतलासी लिइएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘परिवारका सदस्यहरू पनि हुनुहुन्छ। उहाँकी श्रीमती, दुई छोरी र एक छोरा पनि सँगै हुनुहुन्छ।’ वडाध्यक्ष श्रेष्ठले रातिसम्म टोलीले मुचुल्का गरिरहेको जानकारी दिए। खानतलासीमा त्यस्तो शंकास्पद कुरा केही नदेखिएको वडाध्यक्ष श्रेष्ठले बताए। उनले भने, ‘कागजात छन्। त्यसमा खासै केही त्यस्तो कुरा भेटिएको देखिन्न।’
जंगी अड्डाले भने शाहीको घर खानतलासीबारे प्रस्ट जानकारी दिन मानेन। सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाहीको घरमा खानतलासी गरेकोबारे आफूलाई प्रस्ट जानकारी नभएको बताए। ‘उहाँलाई हिरासतमा राखेर छानबिन भइरहेको जरुर हो। तर घरमा खानतलासीबारे भने मलाई पूर्ण जानकारी छैन,’ उनले भने। नागरिकबाट ।