९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता

आजभोलि

पाँचथर । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुगिन् । आवश्यक जानकारी र साथ दिने कोही नहुँदा माझी ९३ वर्षको उमेरसम्म बिनानागरिकता बसिन् ।

हिलिहाङ गाउँपालिका–२ पिनासीकी माझीलाई बिहीबार उनकै घर पुगेका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्यासहितको टोलीले नागरिकता प्रमाणपत्र उपलब्ध गराएको हो । विभिन्न सञ्चारमाध्यममा ९३ वर्षको उमेरमा समेत माझीले नागरिकता प्राप्त गर्न नसकेको तथा नागरिकता प्रमाणपत्र अभावमा राज्यबाट पाउने सबै सेवा सुविधाबाट बञ्चित भएको समाचार प्रकाशन–प्रसारण भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएको थियो । उनको अवस्था बुझ्न गत साता जिल्ला प्रशासन कार्यालयको टोली माझीको घर पुगेको थियो ।

नागरिकता प्राप्त गर्न योग्य व्यक्ति भए पनि माझीले सो प्रमाणपत्र नपाएको बुझेपछि प्रशासनले उनको घरमै पुगेर उपलब्ध गराएको प्रजिअ गैरेले जानकारी दिए । नागरिकताको प्रमाणपत्र के हो ? भन्नेसम्म नबुझेकी माझीका श्रीमान्को दुई वर्षअघि निधन भएको थियो । उनका सन्तान नभएको र अरुका घरमा गएर बस्न नरुचाउने भएका कारण गरिबी र छिमेकीको सहायतामै माझीले जीवन गुजार्दै आएका छन्। नागरिकताको प्रमाणपत्रकै अभावका कारण उनले सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवासमेत लिन नपाएको माझीका छिमेकी बताउँछन् ।

बाख्रा र कुखुरा पालेर बसेकी उनलाई नागरिकताको प्रमाणपत्रबारे उत्ति चासो भने थिएन । तर अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा भने माझी खुसी छिन् । विगतमा श्रीमान्को सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन उनलाई सहज थियो । तर श्रीमान्को निधनपछि माझीको जीवन अभावमा गुज्रिरहेको छ ।

माझीको रेखदेखको जिम्मा लिने हिलिहाङ गाउँपालिकाले प्रतिबद्धता जनाएको छ । “उनको सहज जीवनयापनका लागि आवश्यक काम थाल्ने छौँ”, गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले भने, “घर निर्माण गर्ने र रेखदेखको व्यवस्था गर्छौँ ।” भत्केको सानो घरमा कष्टकर जीवन बिताउन बाध्य माझी अरुका घरमा गएर बस्न सहमत हुनुहुन्न । गाउँपालिकाले घर निर्माण गरी रेखदेखको प्रबन्ध गर्ने योजना बनाएको छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !