धुलाबारी-भद्रपुर कालोपत्रे हुँदा विमानस्थल जान सजिलो

आजभोलि

झापा । झापाको काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको ७ किलोमिटर खण्ड कालोपत्र भएको छ ।

भारत, भुटान तथा बंगलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले सडक प्रयोग गर्दै आएका छन् ।

सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको ३ किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो ।

१ नम्बर प्रदेश सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडकको बाँकी २ किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने २ वटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए ।

पूर्वी नाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा–बिर्तामोड–चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा–चारआली–चन्द्रगढी सडकको २४ किलोमिटर लामो बाटो प्रयोग गर्दै आएका थिए । ती २ सडकको तुलनामा धेरै यो सडकखण्ड निकै छिटो पर्छ ।

मेचीनगर–१५ का दुर्गा बुढाथोकीले विगतमा पिछडिएको क्षेत्रका रूपमा हेरिने ज्यामिरगढी क्षेत्र सडक कालोपत्र भएसँगै सुविधाजनक भएको बताए । यो सडकको धुलाबारीबाट भद्रपुर सीमासम्मको ९ किलोमिटर कालोपत्र निर्माणको ठेक्का विक्रम संवत् २०७५ कात्तिक ७ मा हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी २५ करोड ३२ लाख ८४ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयमै निर्माण गर्न सकेको थिएन ।
प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा निर्माण भएको सो सडक यही फागुनसम्ममा सरकारलाई हस्तान्तरण हुने श्रेष्ठले जानकारी दिए । “कल्भर्टमा काम भइरहेको छ”, उनले भने, “काम दु्रतगतिमा भइरहेको हुँदा अब दुई महिनाभित्रमा सडक पूर्णपमा निर्माण भइसक्छ ।”

रोङ जोड्ने सडक निर्माण सुस्त

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजाबस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको विसं २०७५ मा शिलान्यास गरेका थिए  । भद्रपुर नगरपालिकाबाट इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुई लेनको सडकको दुईवटा अलग–अलग निर्माण कम्पनीले ठेक्का लिएका थिए ।

ठेक्का लिएका कम्पनीमध्ये हिम्डुङ एण्ड थोकर सरोज जेभीले धुलाबारी चोकबाट भद्रपुरसम्मको सडक निर्माणकार्य अन्तिम चरणमा पु–याएको छ भने धुलाबारी मोडबाट उत्तर रोङ गाउँपालिकासम्मको २६ किलोमिटर सडकको निर्माण भने सुस्त गतिमा भइरहेको प्रमुख श्रेष्ठको भनाइ छ । इलामको रोङ जोड्ने सो सडक रु ४६ करोड २३ लाख ८२ हजार नौ सय ८३ मा सम्पन्न गर्ने गरी विर्तामोडको कनकाई झापाली जेभीले ठेक्का लिएको छ ।

सडक निर्माणसँगै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर उकाशिने प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनालीले बताए । उनले पूर्वीनाकाबाट नेपाल प्रवेश गरेर भद्रपुर विमानस्थल हुँदै देशका विभिन्न स्थानमा जाने विदेशी पर्यटकलाई समेत सहज भएको बताए ।

हँडियामा नयाँ पुलको खाँचो

यस सडकको मेचीनगर र भद्रपुर सीमामा पर्ने हँडिया खोलामा नयाँ पुलको आवश्यकता देखिएको छ । एक दशकअघि निर्मित एक लेनको उक्त पुल जीर्ण र साँघुरो भइसकेको छ । पुलको रेलिङ भत्किएका छन् भने दक्षिणतर्फ पुलको मुखमा ठूलो भ्वाङ परेको छ ।

दुईवटा सवारीसाधन ओहोरदोहोर हुन नसक्ने साँघुरो पुलको मुखैमा भ्वाङ परेपछि कुनै पनि बेला त्यहाँ दुर्घटना निम्तिने जोखिम बढेको स्थानीय बताउँछन् । तर भ्वाङ टाल्नेतर्फ कसैको ध्यान जानसकेको छैन । दुई लेनको सडक कालोपत्र भइसकेको अवस्थामा हँडिया खोलाको पुल पनि दुई लेनको हुनुपर्ने भद्रपुर–९ का पूर्व जनप्रतिनिधि कम्पलाल राजवंशीले बताए ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !