वन्यजन्तु बस्ती पसेपछि …

आजभोलि

महोत्तरी । वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।

पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातभरि खेत कुर्नुपरेको यहाँका किसानको पिरोलो छ । बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर (दक्षिण) नझरे पनि नीलगाई, बँदेल र हरिण हुल मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् ।

“हाम्रो बस्तीमा बाँदर र दुम्सी त देखिएका छैनन्, तर घोडगदाहा (नीलगाईलाई यहाँका स्थानीयले भन्ने नाउँ) र बँदेलले भने दुःख दिएर आजित बनाएका छन्”, वन क्षेत्रबाट २० किलोमिटर दूरीको भङ्गाहा–४ पलार बस्तीका किसान सत्यनारायण चौधरीले भने, “चिसो स्याँठमा रातरातभरि यिनलाई लघार्न खेत कुर्नुपर्छ ।” नीलगाई र बँदेलले आजित बनाएको बताउने चौधरीले हरिण र हात्ती भने कहिलेकाहीँमात्र देखिने गरेको बताए । “हरिण पनि समूहमै आउँछन्, तर पातलो, हात्तीचैँ दुईचार वर्षमा देखिन्छन्”, स्थानीय महेश सर्दारले भने ।

अहिले हिउँदे तरकारी र केराका बोट बँदेल र नीलगाईले नोक्सान गर्ने गरेका आम किसानको गुनासो छ । नीलगाईले बासस्थान नै नबनाए पनि ५०÷६० को सङ्ख्याको हुलमा खेतबारीमा पस्ने गरेका भङ्गाहा–६ हतिसर्वाका जयराम यादवले बताए । “घोडगदाहाको हुल पस्यो कि दुई÷चार कट्ठाको कोवी एकैछिनमा दलमदान गर्छन्”, उनले भने, “यिनले गरी खान दिएनन् ।” नीलगाई हकार्दा भागे पनि बँदेलले भने झम्टन आउने हुनाले डरमर्दो भएको यादवको भनाइ छ । नीलगाईले जिल्लाको तल्लो भेगमा लामो बसाई भने बनाउँदैनन् । तर बँदेल भने यतैतिर घारी, झाडीमा बस्नै लागेका पाइएको किसान बताउँछन् । बर्दिबास–७ र भङ्गाहा–४ मा पर्ने प्रेमनगर बस्ती त नीलगाई र बँदेलको अड्डाजस्तै बनेको सो बस्तीका किसान रामप्रगाश महतोले बताए ।

नीलगाई र बँदेलका समूह जिल्लाको सुदूरदक्षिणी मटिहानी, जलेश्वर, मनराशिशवा, एकडारा, सम्सी र सोनमासहितका स्थानीयतहका बस्तीमा छ्यापछ्याप्ती देखिने गर्छन् । झाडीयुक्त बगैँचा, निर्जन खोला किनारका काँशघारी र उखु घारी यिनको बसाई हुनेगर्छ । दिनभरि झाडीमा लुकेर बस्ने नीलगाई र बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको जलेश्वर नगरपालिका–४ को भारतीय सीमावर्ती बस्ती मुसरपट्टीका सुरेश पाण्डेले बताए । नीलगाई जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका बस्तीमा पनि बाक्लै देखिएका छन् । नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने बस्तीभित्रै पसेर घर करेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमदको भनाइ छ ।

नीलगाई मानिसको दचकले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताए । बँदेलले प्रत्येक रातजसो फूलकोवी, बन्दाकोवी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलका डरले खेतबारी डुल्न, घाँसपातको काममा निस्कन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिका–८ थलही बस्तीका रामविलास मण्डलले बताए ।

जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भूचक्रपुर, राजपुर र धतियाटोलतिर त पछिल्ला चार÷पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । नीलगाई र बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल नझरेका सर्वसाधारण बताउँछन् । उत्तरी क्षेत्रका बर्दिबास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिँया र खयरमारासहितका बस्तीमा भने घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरुको भनाइ छ ।

वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेका बताउँछन् । सर्वसाधारण किसान भने वन्यजन्तुबाट लगातारको क्षतिले आजित भएर वन, स्थानीयतह र सुरक्षासम्बद्ध निकाय गुहार्न थालेका छन् ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !