काठमाडौं । आज पोखरामा भएको विमान दुर्घटनामा को–पाइलट अञ्जु खतिवडाले पनि ज्यान गुमाएकी छन् ।
अझ संयोग भनौँ की नियतीको खेल १६ वर्षअघि अर्थात् ७ असार २०६३ मा यती एयरलाइन्सकै विमान दुर्घटनामा परी उनका श्रीमान् दीपक पोखरेलको मृत्यु भएको थियो ।
उनका श्रीमान पोखरेल पनि सोही विमानको को–पाइलट थिए । जुन नेपालगञ्जबाट सुर्खेतहुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएईक्यू सी विमान उडेको २६ मिनेटमा दुर्घटना भएको थियो । त्यो दुर्घटनामा ६ यात्रुसहित पाइलट किरण मल्ल, को–पाइलट पोखरेल र क्याबिन क्रु दीपक शेरचनले ज्यान ग्ुमाएका थिए ।
अञ्जुले पनि को–पाइलट श्रीमान्को मृत्यु भएपछि पाइलटको तालिम लिएकी थिइन् । त्यो घटनाको १६ वर्षपछि यती एयरलाइन्सकै विमान दुर्घटनामा उनले पनि ज्यान गुमाउनु पर्यो । को–पाइलट दम्पतीले १६ वर्षको अवधिमा एउटै कम्पनीको विमान दुर्घटनामा परी ज्यान गुमाउनु दुःखद छ ।
आज दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । पाइलट कमल केसी, क्याबिन क्रु सिर्जना होंगचुन र ओसिन आलेमगरको पनि निधन भएको छ ।