‘क्रुजसिप’ मा सरर

आजभोलि

चितवन । चितवन नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो। यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमितरूपमा सञ्चालन गरिँदै आएको बताए । दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ । दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको उनले जानकारी दिए ।

काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उनको भनाइ छ । उनले भने, “सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ।” स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उनी बताउँछन् । क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उनले बताए। क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो ।

एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उनले बताए । यसका लागि रु सात सयको टिकट काट्ने गरिएको छ। यसमा एक कप कफी दिइँदै आएको छ ।

यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उनले बताए । ब्रेकफास्ट क्रुजिङका लागि रु एक हजार पाँच सय, लञ्च क्रुजिङका लागि रु दुई हजार, डिनर क्रुजिङका लागि रु दुई हजार पाँच सय शुल्क तोकिएको छ ।

केही दिनभित्रै सुरुमा डिनरबाट प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ । यो समयमा बिहानमा कुहिरोका कारण सञ्चालन कठिन हुने भएकाले लञ्च र डिनर गर्न सकिने उनको भनाइ छ ।

क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेशन रहेको छ । तीन तलाको क्रुजमा दुई सय जना यात्रु एकैसाथ चढ्न मिल्छ ।

कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार यो क्रुजसिप निर्माणमा रु १५ करोडभन्दा बढी खर्च भएको छ। क्रुजमा सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ ।

क्रुजमा यात्रा गर्ने हरेक यात्रुको रु १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने उनले जानकारी दिए ।

नारायणी नदीको ४० किलोमिटरमा सञ्चालनका अनुमति लिएको निर्देशक कँडेलको भनाइ छ । यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ। पानीको बहावअनुसार दूरी बढाउँदै लैजाने उनले बताए ।

नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहने छन् ।
क्रुजसिप सञ्चालनसँगै यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायीले गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एक दिनको बसाइ लम्ब्याउन र मनोरञ्जन दिन क्रुज उपयोगी हुनसक्ने व्यवसायीको भनाइ छ ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !