सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

आजभोलि

काठमाडौँ । ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए ।

“पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ”, उनले भने, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।” उनका अनुसार दैनिक चार÷पाँच पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडकमा ट्राफिक जाँच गर्ने गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

“ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा पनि बढोत्तरी भएको छ”, उनले भने, “मादक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायतजाँच गर्ने गरिन्छ ।” ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पर्ने गरेका छन् । सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरी निरीक्षक चन्दले बताए।

“नम्बर प्लेटमा राख्ने गरिएको झन्डाले नम्बर सानो देखिने भयो, टाढाबाट पनि स्पष्ट देखिएन”, उनले भने, “त्यसैले झन्डा हटाएर प्लेटमा नम्बर मात्रै लेख्न लगाउने गरेका छौँ ।” जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सडक दुर्घटना बढ्दो क्रममा छ । पछिल्लो दुई वर्षमा कञ्चनपुरमा एक सय ९० सवारी दुर्घटनाका घटना भएका छन् । त्यसमा ६८ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा ९३ र आव २०७८/७९ मा ९७ सडक दुर्घटना भएका थिए । चालू आव २०७९/८० को अहिलेसम्म ३३ दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आव २०७७/७८ मा ३५ र २०७८/७९ मा ३३ जनाको मृत्यु भएको थियो ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !