भजनी। हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ। तर सबैले भने जस्तो हुँदैन ।
गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ। अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन्। त्यसैमध्येकी एक हुन्, कालीकोट पचाल झरना गाउँपालिका–५ कि दुर्गा बुढा ।
बुढाका तीन जना छोरा छन्। गाउँमा भने जस्तो विद्यालय नभएपछि उनी यतिबेला कैलालीको टीकापुर झरेका छन्। उनले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झरेका हुन् ।
गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हालेकी उनले त्यो बेलामा मासिक रू ३० देखि ४० हजारसम्म कमाउँ थिइन् ।
“गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ”, उनले भनिन्, “यहाँ बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो।” तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उनले सुनाइन् ।
“टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । खेतबारी पनि उजाड बन्यो । निकै मिहेनतले बनाएको घर अलपत्र प¥यो भने आम्दानीका सबै स्रोत पनि सुके”, उनले भनिन् ।
नयाँ आम्दानीको स्रोतका लागि उनले पानीपुरी र चटपटेको व्यापार सुरु गरिन् । जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौँमा कक्षा ११ मा पढिरहेको छ । दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन् । बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गर्नुभएकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन ।
“दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ । महिनामा २५ हजारसम्म बचत हुन्छ”, दुर्गा भन्छन्, “काठमाडौँ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाइले परिवार पालिएको छ ।”