धनगढी । बझाङको जय पृथ्वी नगरपालिकामा भूकम्पमा परी एक जनाको हात भाँचिएको छ । भूकम्प आएपछि घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका–११ का ५२ वर्षीय हरिकृष्ण जोशीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।
भूकम्पका कारण बझाङमा मंगलबार बेलुकासम्म ३३ घरमा क्षति पुगेको विवरण प्राप्त भएको उनले बताए । सुरक्षाकर्मीका भवन, स्वास्थ्य चौकी, विद्यालय भवन, तथा निजी घरमा आंशिक क्षति भएको विवरण आएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।
उनका अनुसार बझाङको उत्तर, पूर्वी क्षत्रमा पर्ने पालिका जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, सूर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भूकम्पले क्षेति गरेको छ ।
सोमबार रातिदेखि आएको वर्षा र हिमपातका कारण टेलिफोन टारवमा भएको समस्याका कारण केही स्थानमा भने टेलिफोन सेवा अवरुद्ध बनेको र त्यसले सूचना संकलनमा समस्या भइरहेको उनले बताए ।