विराटनगर । कोसी एक्स्पोमा नेपालकै सबैभन्दा होचो स्थान केचनाकवलदेखि संसारकै अग्लो हिमाल सगरमाथासम्मको जानकारी पाइने व्यवस्था मिलाएको छ
नेपाल उद्योग परिसङ्घ (सिएनआइ) प्रदेश नं १ को आयोजनामा यही माघ १९ गतेदेखि १० दिनसम्म विराटनगरमा आयोजना हुन लागेको सिएनआइ कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचनाकवलका बारेमा जानकारी पाइने व्यवस्था गरिने भएको छ ।
प्रदेश नं १ को भौगोलिक, जातीय र सांस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्तालाई जानकारी दिने उद्देश्यले देखाउन लागिएको जनाइएको छ । त्यसका लागि एक्स्पो स्थलमा ती संरचना निर्माणको काम सुरु भएको हो ।
हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोमा दर्शकले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि सांस्कृतिक सम्पन्ताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सिएनआइ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेले बताए ।
विराटनगर महानगरपालिका–२ शङ्करपुरमा एक्स्पोको तयारी तीव्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माण जारी छ । ऐतिहासिकरुपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरजस्ता संरचना पनि निर्माण सुरु गरिएको जनाइएको छ ।
आयोजक समितिका संयोजक राजेन्द्र राठीले एक्स्पोमा सविन राई तथा उनको फारोह र राजु लामाको मङ्गोलियन हर्ट, अभया सुब्बा द स्ट्रिम इन्जिन्स ब्याण्डका साथै कलाकार एकदेव लिम्बू, नितेशजङ्ग कुँवर, समीर श्रेष्ठ, आशीष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थलगायतको प्रस्तुति हुनेछ ।