काठमाडौं । पोखरामा आइतबार शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउन खोज्ने महिलाको मृत्यु भएको छ । जलिरहेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउने प्रयास गरेकी क्षेत्रीकी घरधनीसमेत रहेकी संगीता सापकोटाको आज मृत्यु भएको हो ।
पोखराको काहुँखोलामा आत्मादाह गर्ने मनसाय राखी शरीरमा आगो लगाएर जलिरहेका क्षेत्रीलाई बचाउन सापकोटाले प्रयास गर्ने क्रममा आफू पनि जलेर गम्भीर घाइते भएकी थिइन् । त्यसपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा राखी उपचार जारी राखिएको थियो ।
क्षेत्री सापकोटाको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका थिए । उनले आइतबार आफैंमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए ।
क्षेत्रीको शरीरको २५ प्रतिशत भाग जलेको प्रतिष्ठानले जनाएको छ । आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन ।