श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर

आजभोलि

राँझा । श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ भने उनको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा बद्रि चापागाइले बताए ।

“घाँटी वरिपरी पनि जलेको घाउको असरले श्वासप्रश्वासमा समस्या आउँछ कि भन्ने चिन्ता छ”, डा चापागाइले भने, “उनको अवस्था अहिले स्थिर छ, छोरो गुमाउँदा मानसिक रुपमा तनावमा हुनुहुन्छ ।”

कोहलपुर नगरपालिका २ निवासी भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा र छोरालाई आगो लगाउँदा घाइते भएका थिए । उपचारका क्रममा छोराको मृत्यु भएको थियो ।

“बरु मलाई मात्रै आगो लगाइदिएको भए हुन्थ्यो, मैले छोरालाई बचाउन सकिन”, अस्पतालको शय्याबाट विकले भनिन् । कोठा थुनेर आफूलाई धेरै कुटपिट गरेपछि माइत जान हिँडेकी आफू र छोरालाई श्रीमानले पछाडिबाट पेट्रोल छ्यापेर आगो लगाइदिएको उनको भनाइ छ ।

कालिकोटबाट बसाइँसराइ गरी कोहलपुर–२ शक्तिनगरमा बसोबास गर्दै आएका भानुभक्त गलैँचाको व्यापार गर्ने काम गर्छन् । उनका अनुसार श्रीमानले हरेक दिनजसो झगडा र कुटपिट गर्दै आएका थिए ।

श्रीमती र छोरालाई आगो लगाएर फरार भएका भानुभक्तलाई भारतको सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !