कामधन्दाको मारमा विद्यार्थी

आजभोलि

टङ्कीसिनवारी । विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् ।

बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगरक्षेत्रभित्र यथावत् नै छ ।

विराटनगर–७ मा आदर्श बालिका विद्यालय छ । बालिकामात्र अध्ययन गर्ने आदर्श विराटनगरको एक मात्र विद्यालय हो । विद्यालयमा तीन सय २५ बालिका अध्ययनरत छन् । कक्षा १ देखि कक्षा १० सम्म नेपाली माध्यममा यहाँ पढाइ हुन्छ ।

विद्यालयमा मुख्य गरी मधेसी, मुस्लिम, पिछडा र सीमान्तकृत समुदायका बालिका पढछन् । सरदर दैनिक २० देखि २५ बालिका कक्षामा हाजिर हुँदैनन् । घरको कामले नभ्याएर पनि कतिपय बालिका विद्यालय आउनबाट वञ्चित हुने गरेको आदर्शका प्रधानाध्यापक रमेश नेपालले बताए । उनले आदर्शमा अध्ययन गर्ने अधिकांश बालिकाका अभिभावक श्रमिक रहेको बताए । सबेरै उठेर काममा अभिभावक हिँड्नुपर्ने भएकाले कलिलो उमेरमा नै बालिकाले घरको काम सम्हाल्नुपर्ने स्थिति रहेको बताए ।

कक्षा ७ की १३ वर्षीया पिङ्की राजवंशीलाई विद्यालय आउनुअघि र विद्यालयबाट घर पुगेपछि कामको नै चटारो हुने गर्छ । विराटनगर–८ को अशोकचोक बस्ने राजवंशीको घरमा हजुरबुबा, हजुरआमा, बुबा, आमा र ६ वर्षको भाइ छ । राजवंशीको बुबा रमेश राजवंशी र आमा सन्तोषी राजवंशी कटहरी गाउँपालिकामा रहेको बाबा जुटमिलमा कार्यरत हुनुहुन्छ । राजवंशीका बुबाआमा बिहानै काममा जानु हुन्छ र अबेर राति घर फर्किन्छन् ।

बिहान उठेर घरआँगन बढार्ने, लिपपोत गर्ने, पूजा गर्ने, चिया खाजा बनाउने, भाइको हेरचाह गर्ने र भात पकाएर हजुरबुबा हजुरआमालाई खुवाएर राजवंशी विद्यालय पुग्छन्। विद्यालयबाट फर्केपछि पनि भात पकाएर बुबाआमालाई राजवंशीले पर्खने गर्छन्। सुत्ने बेलामा विद्यालयको गृहकार्य गर्छन्। दाउरामा भात पकाउनु पर्दा चिसो दाउरा नबलेर भात ढिलो पाक्दा विद्यालय छुट्ने गरेको गुनासो राजवंशी गर्छन्।

यस्तै कक्षा ८ मा पढ्ने १४ वर्षीया निर्विषा दुलालको आमा छैनन्। दुलाल ठूलो बुबाको घरमा बस्छन्। दुलालले पनि घरको कामधन्दा सकेर विद्यालय आउने गरेका छन्। घरमा खाना पकाउने, सरसफाइ गर्ने, लुगा धुने दिनचर्या दुलालको रहेको छ । कामबाट समय बच्यो भने विद्यालय आउने दुलाल प्रायः विद्यालयमा अनुपस्थित छन्।

विराटनगर–४ स्थित बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले भर्ना भएपछि पनि बालबालिका विद्यालयमा नियमित हुन नसकेको बताउँछन् । उनले अनुपस्थित हुनेमा बालकभन्दा धेरै बालिका नै रहने गरेको सुनाए । उनले गरिबी, सचेतनाको अभावका कारण अभिभावकले पनि आफ्ना सन्तानलाई काममा लगाइदिने, घरको कामको जिम्मेवारी अबोध बालबालिकाले लिनुपर्ने समस्या अझै विद्यमान रहेको बताए ।

विराटनगर–२ स्थित शङ्करपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा पोखरेलले विद्यार्थीलाई विद्यालयमा नियमित गराउनु भनेको फलामको च्युरा चपाए झैँ रहेको बताए ।

उनले विद्यालयमा अध्ययन गर्ने कतिपय बालबालिका महिनौँसम्म विद्यालयमा अनुपस्थित हुने बताए । एक त आधारभूत विद्यालय पढ्ने बालबालिका आफैँ शारीरिक र मानसिक रूपमा कमजोर हुने त्यसमाथि पनि घरमा भात पकाउनेदेखि भाइबहिनी हेर्नुपर्ने जिम्मेवारीका कारण उनीहरूले पढ्ने वातावरण पाउन नसकेको बताए ।

पोखरेल भाडामा लिएको सिटी रिक्सा लिएर आफैँ अनुपस्थित रहने विद्यार्थीको घर पुग्ने गर्छन्। उनले अभिभावकलाई सम्झाइबुझाइ गरेर बहुसङ्ख्यक अनुपस्थित रहने विद्यार्थीलाई विद्यालयमा फर्काउनु भएको छ । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले नगरक्षेत्रका सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीले कक्षालाई निरन्तरता दिन नसकेको स्वीकार गरे। गरिबी र पछौटेपनका कारण अभिभावकले पनि विद्यार्थीलाई विद्यालय पठाउन नचाहेर घर वा बाहिरको काममा लगाउने गरेको बताए ।

भट्टराईले विद्यार्थीको अनियमित पठनपाठनका कारण सिकाइ क्षमतामा पनि गहिरो असर पर्ने गरेको बताउँछन् । उनले अभिभावकमा जागरुकता जारी छ भन्छन्,विद्यार्थीको शतप्रतिशत भर्ना अनि नियमित पठनपाठनका लागि महाशाखाले विभिन्न कार्यक्रम ल्याएको भट्टराईले बताए ।

महाशाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्रका आधारभूत तहको भर्ना दर ९०.१६ प्रतिशत, सामुदायिक विद्यालयमा कक्षा ६ देखि ८ मा ८३.४९, कक्षा ९ र १० मा ८१.२१ र कक्षा ११ र १२ को भर्ना दर ३४.६२ प्रतिशत रहेको छ । विराटनगर महानगरपालिकाभित्र आधारभूत र सामुदायिक ५६ विद्यालय छन् । यी विद्यालयमा १२ हजार एक सय ६८ बालिका र १२ हजार पाँच सय ८८ बालकसहित २४ हजार सात सय ५६ विद्यार्थी अध्ययनरत छन् । नगरक्षेत्रका १९ धार्मिक विद्यालयमा एक हजार ३६ बालिका र एक हजार एक सय ७३ बालक अध्ययनरत छन् । विराटनगर नगरक्षेत्रमा कूल ८४ संस्थागत विद्यालय छन् । यी संस्थागत विद्यालयमा १५ हजार एक सय ४५ बालिका र २० हजार तीन सय १३ बालक गरी कूल ३५ हजार चार सय ५८ विद्यार्थी अध्ययनरत छन् ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !