मुगु । गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन् ।
बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका–८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन् ।
टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई प्रतिघर ३० केजी चामल, दुई केजी दाल, एक पाकेट नून, डसना, फाइबर सिरक र तन्नालगायतका सामाग्री वितरण गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले जानकारी दिए ।
माघको जाडोमा खाद्यान्न र न्यानो ओढ्नेओछ्याउने कपडा पाएपछि विष्टवाडा गाउँका स्थानीय खुसी छन् ।
“गत असोज १८ देखि २३ सम्म परेको अविरल वर्षाका कारण गाउँमा कसैका घर भत्किए, कसैका चर्किए, खेतगरामा पाक्न लागेका अन्न सबै बगायो । त्यस बेलादेखि घर बाहिर नै बस्दै आएका छौँ”, स्थानीय लोकबहादुर विष्टले भने।
उनका अनुसार छिमेकी तथा नगरपालिकाले गरेको सहयोगमा जीविकोपार्जन गर्दै आएका स्थानीयले आज न्यानो कपडा र खाद्यान्न राहत पाएका हुन् ।
स्थानीय रमिला रावलले ठुलो परिवारलाई जीविकोपार्जनमा समस्या भएको भन्दै सरकारले घर निर्माणमा सहयोग गर्नुपर्ने बताए ।
छायाँनाथ राराका बासिन्दा मात्र होइन जिल्लाभरिका बाढीपहिरो पीडित परिवार सरकारले घर निर्माण तथा गरा सुधारमा सहयोग गर्नुपर्ने बताउछन् ।
सरकारले मुगु लगायत साविक कर्णालीलाई संकटग्रस्त जिल्ला घोषणा गरी पुनर्निर्माणका लागि पीडित परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको वडा नं ८ का वडाअध्यक्ष कर्णबहादुर रावलले बताए ।
उनले तथ्याङ्क सङ्कलन गर्ने नगरपालिकाका कर्मचारीहरुलाई क्षति र हालको अवस्थाबारे वास्तविक तथ्याङ्क उपलब्ध गराउन पीडित परिवारलाई आग्रह गरे ।
वर्षासँगै आएको बाढीपहिरोले यहाँका चार वटै पालिकामा करोडौँको क्षति पु¥याउनुका साथै आठ जनाको ज्यान समेत गएको थियो ।
जग्गा मात्र बगाएका परिवार घरमा फर्किए पनि घरजग्गा दुवै गुमाएका परिवार भने अहिले पनि खुला चौरमा पालभित्र बस्दै आएका छन् ।