अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

आजभोलि

काठमाडौं । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ ।

धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस प्रदेशले सङ्घीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शिला निकालिएको ठाउँमा उद्यान बनाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख ज्योति लामिछानेले देवशिला निकालिएको ठाउँको संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न स्मारकसहितको उद्यान बनाउन लागिएको जानकारी दिए । “मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई लक्षित गरेर देवशिला उत्खननस्थलको संरक्षण र प्रवद्र्धन गर्ने योजना बनाएका छौँ”, उनले भने, “आर्थिक स्रोतको खोजी र पूर्वाधारको सम्भाव्यता अध्ययनमा जुटेका छौँ ।”

देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । देवशिला लगिएपछि भारतबाट आएका तीर्थयात्रीले स्नान र अवलोकन गर्न थालेका छन् । हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गर्न शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिला लगिएको छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ तथा तीन दशमलव पाँच फिट मोटाइका दुई शिला उपहार दिइएको हो ।

नगर प्रमुख सुरत केसीले देवशिला लिन आएका रामलीला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज लगायतले स्मारक र उद्यान निर्माणमा सघाउने प्रतिबद्धता जनाएको बताए ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर आर्थिक स्रोत जुटाउन प्रस्ताव गरिने उनले बताए । स्मारक र उद्यानका साथै कालीगण्डकी नदीमा स्नान स्थल बनाउने योजना रहेको छ । कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेले देवशिला उत्खननस्थल नजिकै फोहर फाल्ने ठाउँ स्थानान्तरण गर्नुपर्ने बताए ।

देवशिला अयोध्या लैजानका लागि समन्वय गरेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले यो क्षेत्रको धार्मिक पूर्वाधार निर्माणमा सघाउन रामलीला मन्दिर निर्माण समिति र भारत सरकारले प्रतिबद्धता जनाएको बताए ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !