विद्युतीय बस सञ्चालनबारे आशयपत्र माग

आजभोलि

काठमाडौं । काठमाडौँको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । चक्रपथ विद्युतीय बस र्‍यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान गरिएको आशयपत्र रद्द गर्दै लगानी बोर्डको कार्यालयले दोस्रोपटक आशयपत्र माग गरेको हो ।

उक्त आयोजनाको सम्भाव्यता अध्ययनका लागि यसअघि गत मङ्सिर २६ गतेसम्म आशयपत्र पेस गरिसक्ने गरी ३५ दिने सूचना जारी भएको थियो । त्यो बेला माग गरिएको आशयपत्रमा केही कम्पनीले भौतिक रुपमा प्रस्ताव हालेपछि दोस्रोपटक आशयपत्र मागको सूचना जारी गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । लगानी बोर्डले जारी गरेको आशयपत्रसम्बन्धी सूचना सार्वजनिक खरिद निर्देशिकामा भएको व्यवस्थाभन्दा फरक परेपछि रद्द गर्नुपरेको लगानी बोर्डका इञ्जिनीयर निशा त्रिपाठीले जानकारी दिए ।

“अघिल्लो सूचनाका आधारमा केही प्रस्तावकले प्रस्तावको हार्ड कपि दर्ता गराउन ल्याए । लगानी बोर्डले दर्ता पनि गर्‍यो। तर मूल्याङ्कन समितिले त्यसलाई विद्यमान कानुन र सार्वजनिक खरिद निर्देशिका बमोजिम भएन भनेपछि दोस्रोपटक आशयपत्र माग गरिएको हो”, इञ्जिनीयर त्रिपाठीले भन्नुभयो । विद्युतीय माध्याम (इ–बिडिङ) बाट आशयपत्र माग भएकाले प्रस्ताव पनि विद्युतीय माध्यमबाटै आउनुपर्ने भन्दै अघिल्लो प्रस्ताव रद्द गरेर नयाँ प्रस्ताव आह्वान गरिएको उनको भनाइ छ ।

आयोजनाको सम्भाव्यता अध्ययनका लागि अघिल्लो पटक १३ वटा प्रस्ताव परेको बोर्डको कार्यालयले जानकारी दिएको छ । बार्डले माघ १८ गते अघिल्लो आशयपत्र रद्द गर्ने निर्णय गरेको थियो भने आइतबार पुनः आशयपत्र माग गरिसकेको छ । दोस्रोपटक पनि ३५ दिन समय राखेर सूचना जारी भएको छ । बोर्डको कार्यालयले उपलब्ध गराएको आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथको २७ दशमलव तीन किलोमिटरमा विद्युतीय बस सञ्चालनका लागि छुट्टै लेन बनाउने र आवस्यक पूर्वाधार तयार पार्न १८ महिनाभित्रमा सम्भाव्यता अध्ययन सकिसक्नुपर्नेछ ।

यो आयोजनाका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी जुटाएर निर्माण–सञ्चालन र हस्तान्तरण ढाँचा (बुट मोडल) मा अघि बढाउने बोर्डले जनाएको छ । आयोजनासम्बन्धी विवरणअनुसार चक्रपथमा ७० देखि ७५ वटासम्म विद्युतीय बस सञ्चालन गर्न साँढे सातदेखि आठ मिटरसम्म चौडाइका दुईवटा डेडिकेटेड लेन बनाउन सम्भाव्यता अध्ययन गरिनेछ ।

त्यस्तै, विद्युतीय बस सञ्चालनलाई २६ देखि ३० वटासम्म बस टर्मिनल, ३० वटा चार्जिङ स्टेसनलगायत अन्य पूर्वाधार बनाउन अध्ययन गरिने उल्लेख छ । विद्युतीय सवारीसाधन सञ्चालन गर्न तयार पारिने डेडिकेटेड लेन बनाउन राइट अफ वेको जग्गा अधिग्रहण सरकारले गर्नेछ भने आयोजनाको सुरक्षाको जिम्मेवारी पनि सरकारले लिनेछ ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !