काभ्रेपलाञ्चोक । यहाँको नापी कार्यालयमा सञ्चालन गरिएको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन बनेको छ ।
नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको थियो ।
उक्त कार्यक्रमअन्तर्गत डिजिटल नक्सा घरमै बसेर प्राप्त गर्न सकिने छ । तर दश महिनाको अवधिमा २८ जनाले मात्रै उक्त सेवा लिएको कार्यायले जनाएको छ ।
कार्यालय प्रमुख रामविनय कुमार सिंहले मेरो कित्ता कार्यक्रमबारे नागरिकलाई जानकारी नहुँदा र उनीहरुमा पनि चासो नहुँदा प्रभावहीन देखिएको बताए । “कार्यक्रमबारे जिल्लाका नागरिकलाई बुझाउन जरुरी देखियो, यसका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने छ”, उनले भने। उनका अनुसार केही सेवाग्राहीले टेलिफोनमार्फत जानकारी लिने गरेका छन् ।
“घरबाटै इन्टरनेटको प्रयोग गरेर आफ्नो जग्गाको कित्ताको नक्सा लिन सकिन्छ, यसले खर्च र समयको बचत पनि हुन्छ”, उनले भने ।
पाँचखाल नगरपालिका–३ का रामकृष्ण तिमल्सिनाले इन्टरनेटमार्फत आफ्नो जग्गाको नक्सा पाइनेबारे जानकारी नभएको बताए । “कार्यक्रम लागू भएपछि सम्बन्धित निकायले जानकारी दिनुपर्ने, सेवाग्राहीले पनि कार्यालयबाट पाउने सुविधाबारे चासो दिनुपर्छ”, उनले भने। उनले खर्च र समयको बचत हुनुका साथै लाइन बस्नुपर्ने झन्झट नहुने भन्दै सेवाग्राहीलाई सेवा लिन आग्रह गरे ।
उक्त कार्यक्रमबाट सेवा लिन चाहने सेवाग्राहीले एक ‘एमबी’ बराबरको जग्गाधनी पुर्जा र नागरिकताको फोटो सहित फारम भरी आईपिएस्मार्फत रू एक सय राजश्व र रू दशको टिकट बापतको रकम तिर्नुपर्छ । प्रक्रिया पूरा भइ आएका निवेदनलाई नापी कार्यालयले दुई दिनभित्र सम्बन्धित व्यक्तिलाई नक्सा उपलब्ध गराउने छ ।
सूचना टाँस गरेर सेवाबारे जानकारी दिएको नापी अधिकृत सुरेश मानन्धर बताउँछन् । “सहज सेवा हुँदाहुँदै नागरिक लाइन बसिरहेका छन्, अब यसबारे प्रभावकारी योजना बनाएर नागरिकलाई बुझाउन जरुरी देखिन्छ”, उनले भने।
पछिल्ला दिन जग्गाको नक्सा प्राप्त गर्न कार्यालयमा दैनिक एक सयको हाराहारीमा सेवाग्राही लाइन बस्ने गरेका छन् । यही माघ २ देखि काभ्रेपलाञ्चोकमा जग्गाको कित्ताकाट खुलेपछि नक्सा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।
मातपोत कार्यालयले धुलिखेल र बनेपा नगरमा मात्रै जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरेको हो । अन्य स्थानीय तहले जग्गाको वर्गीकरण गरी मालपोत कार्यालयमा निवेदन गरेकाले क्रमशः कित्ताकाट खुलाईंदै जाने जनाइएको छ ।