आश्रय, पानी, इन्धन र बिजुली अभावका कारण गम्भीर घाइते भएकासमेत जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भूकम्पभन्दा अन्य प्रकोपका कारण सर्वसाधारणले अझ जटिल चुनौती सामना गर्नुपर्ने चुनौती थपिएको छ ।
दुवै देशका उद्धारकर्मी सक्रिय रहे पनि भग्नावशेषमुनि फसेका धेरैलाई जीवित उद्धार गर्ने आशा भने न्यून देखिएको छ । बेलायती परोपकारी संस्थाले प्रभावित मानिसका लागि कोष जुटाउन अपिल सुरु गरिसकेका छन् ।
टर्की–सिरियामा २१ हजार बढीको मृत्यु
यसैगरी, विपक्षीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा समेत संयुक्त राष्ट्र संघको सहायताको पहिलो चरणमा ६ लरी टर्कीबाट त्यस क्षेत्र प्रवेश गरेको छ । उद्धारकर्ताका अनुसार कम्तीमा १ हजार ९ सय जनाको मृत्यु भएको र धेरै मानिस ध्वस्त संरचनामा फसेको हुन सक्छन् ।
सो क्षेत्रमा भूकम्प आउनुअघि लाखौं जनता (जसमा अधिकांश महिला र बालबालिका छन्) बाँच्नका लागि मानवीय सहायताको भरमा थिए । बाल अल हवा क्षेत्रमा जिहादी गठबन्धन र राष्ट्रपति बसर अल अदको सरकारको विरोध गर्ने टर्की समर्थित विद्रोही गुटद्वारा नियन्त्रित छ ।
दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले सार्वजनिक गरेको तथ्यांकअनुसार टर्कीमा मात्र भूकम्पबाट ज्यान जाने नागरिकको संख्या १२ हजार ३ सय ९१ पुगेको छ । यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी घाइते भएको जनाएको थियो ।
घाइते भएका अस्पताल पुयाइएका र अस्पतालमै पनि निधन भएका समाचार आइरहेका छन् । सिरियामा पनि भूकम्पमा परी बिहीबारसम्म ज्यान जानेको संख्या १ हजार २ सय नाघेको छ । यहाँ २ हजारभन्दा बढी घाइते भएका छन् ।
टर्की दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार गत सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प गयो ।
त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रबिन्दु रहेको कहरमानमारासमा उद्धारकर्मी जीवित व्यक्तिको खोजीका लागि जुटेका छन् ।
धेरै देश र विश्वव्यापी सहायता एजेन्सीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली र राहत सामग्री प्रदान गरिरहेका छन् ।
यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा पुगेको छ । अमेरिकी अधिकारीले पनि उद्धारका लागि अमेरिकी टोली पठाइएको छ ।
संयुक्त राष्ट्रसंघले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको छ । युरोपेली युनियन (ईयू) सदस्य राष्ट्र एवं ईयू नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशले भूकम्प प्रभावित क्षेत्रमा ३६ उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन् ।
भूकम्पबाट उत्पन्न संकट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले यस्तो कदम चालिएको बताएका छन् । टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको छ ।
ईयू सुरक्षा टोली पनि समन्वयमा सहयोग गर्न खटाइएको छ । टर्की दक्षिणी प्रान्त हाते र सिरिया उत्तरी सहर एलेप्पोमा सबैभन्दा ठूलो जनधन क्षति भएको छ । लेबनान, इजरायल र साइप्रसले पनि भूकम्प धक्का महसुस गरेका छन् । ईयूले भूकम्प प्रभावित देशमा राहत र उद्धार तीव्र बनाएको छ ।
९५ राष्ट्रको सहयोग
भूकम्पपछि करिब ९५ राष्ट्र र १६ अन्तर्राष्ट्रिय संस्थाले टर्कीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लेले हालसम्म ५५ देशका ६ हजार ४ सय ९७ उद्धारकर्मी मैदानमा रहेको बताए । राजधानी अंकारामा आयोजित पत्रकार सम्मेलनमा उनले थप १९ देशका टोली २४ घण्टाभित्र टर्की आउने जानकारी दिए ।
त्यस्तै, भूकम्पपछि सबैभन्दा चिसो तापक्रम महसुस गरिएका कारण उद्धारकार्यमा चुनौती थपिएको छ । गाजियनटेपमा माइनस ४ डिग्री सेल्सियस, मलात्यामा माइनस ६ डिग्री सेल्सियससम्म तामान गएको थियो । रातको समय बढी चिसो महसुस गरिएको छ ।
किन बढी क्षति भयो ?
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पले हजारौंको ज्यान लिएको छ भने लाखौं घाइते भएका छन् । यो भूकम्प अति घातक हुनुमा विभिन्न कारण रहेको विश्लेषण गरिएको छ ।
बिहान सबेरै सर्वसाधारण ओछ्यानमै भएको बेला भूकम्पीय धक्का महसुस हुनु र घरको भग्नावेशषमा फसेका कारण धेरै मानवीय क्षति भएको हो ।
चिसो मौसमका कारण पनि प्रभावित क्षेत्रमा उद्धारकर्मी पुग्न गाह्रो भएको छ । उद्धारकर्मी उपस्थिति भएपछि सीमाका दुवै क्षेत्रमा उद्धार कार्य अझ जटिल बनेको देखिन्छ ।
प्रभावित क्षेत्रमा छिटपुट वर्षा र हिउँसमेत परिरहेको छ । भग्नावेशमुनि फसेका मानिसले पानी र खानाबिना नै केही दिन बिताएका कारण ‘हाइपोथर्मिया’ जोखिम रहेको छ । थप परकम्प आशंकामा स्थानीयलाई आफ्नो सुरक्षाका लागि भवन छोड्नसमेत आग्रह गरिएको छ ।
टर्कीमा भूकम्पका कारण ५ हजार ७ सयभन्दा बढी भवन ध्वस्त भएका छन् । प्रभावित केही क्षेत्रमा संरचनाको गुणस्तर विषयमा समेत प्रश्न उठेको छ ।
इस्तानबुलको बोगाजिसी युनिभर्सिटिीका भूकम्प इन्जिनियरिङका प्राध्यापक मुस्तफा एर्दिकले भनेका छन्, ‘जसलाई हामी प्यानकेक पतन भन्छौं, विशेषगरी हामी इन्जिनियर यस्तो प्रकारको पतन हेर्न मन पराउँदैनौं ।’
उनले डिजाइन र निर्माणमा परिवर्तन भएको संकेतसमेत गरेका छन् । संरचनात्मक इन्जिनियर किशोर जैसवालले ‘टर्कीले विगतमा पनि यस्ता भूकम्प अनुभव गरेको’ बताए । जसमा १९९१ मा दक्षिणपश्चिम टर्कीमा भूकम्प गएको थियो । १४ हजारभन्दा बढीको मृत्यु भएको थियो । यहा“का भवन निर्माणका धेरै नियम छन् । तर, सबै भवन आधुनिक टर्किस मापदण्डअनुसार बनेका छैनन् ।
डिजाइन र निर्माणमा कमजोरी भएकोसमेत उल्लेख गरिएको छ । ‘संचरनालाई भूकम्पीय तीव्रता सामना गर्न सक्नेगरी डिजाइन गरिएको छैन भने समस्या हुन्छ,’ उनले भनेका छन् । सम्भवतः १९९९ अघि निर्माण भएका धेरै भवन भत्किएको हुनुपर्ने उनको अनुमान छ ।
भग्नावशेषमा साता दिनसम्म पनि जीवित व्यक्ति फेला पार्न सकिने भएकाले उद्धारकर्मी भने खटिरहेका छन् ।
चुनौतीपूर्ण अवस्थामा टर्कीका
आगामी १४ मेमा टर्कीमा महत्वपूर्ण परिवर्तनको बिन्दुका रूपमा रहेको राष्ट्रपति चुनाव छ । यसले वर्तमान राष्ट्रपति एद्रोगानको भविष्यमाथि समेत निर्णायक भूमिका खेल्ने विश्लेषण भएको छ ।
भूकम्पका कारण टर्कीको जनसख्ंया, अर्थतन्त्र, मुद्रामा ठूलो परिवर्तन हुने निश्चित छ । उद्धारका प्रयासदेखि जनताको सन्तुष्टि अवस्थासमेत मतपत्रमा जायर हुने अवस्था आउन सक्ने क्रिब्स्टोन रणनीतिक म्याक्रोका संस्थापक माइक ह्यारिसले बताएका छन् ।
अहिले मुद्रास्फीति ८० प्रतिशतमा चलिरहेको छ तर चुनावबीच स्थिर राख्ने वर्तमान राष्ट्रपतिलाई चुनौती हुन सक्छ । एर्दोगनले अपरम्परागत नीतिका माध्यमबाट अर्थ व्यवस्था ‘डि डिलराइज’ गर्ने मह“गो रचनात्मक तरिका अपनाउन पनि सक्छन् । उनले १३ प्रतिशत ब्याजदर तोक्न अनुमति दिएका छन् । जुन घातक हुन सक्ने विश्लेषण छ ।
अन्तर्राष्ट्रिय रूपमा टर्कीको भविष्यले युक्रेन युद्धलाई समेत असर गर्ने विश्लेषण छ । युक्रेन र रुसबीचको मध्यस्थकर्ताका रूपमा एर्डाेगनको भूमिकालाई हेरिएको छ । टर्की नाटाको मुख्य सदस्य हो । ऊ अझै स्विडेन र फिनल्यान्डको बाटोमा उभिएको छ । राजधानीबाट ।