काठमाडौं । प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५औँ वर्षको उमेरमा निधन भएको छ । दम रोगबाट पीडित ताल्चाभँडेलको आफ्नै निवास कालिमाटीमा आज निधन भएको उनका भाइ नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता राजेन्द्रमान ताल्चाँडेलले जानकारी दिए । उनकोे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र चार छोरी छन् ।
विसं २०१३ सालमा भएको भद्र अवज्ञा आन्दोलनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका ताल्चाभँडेलले विसं २०१८ पछि राष्ट्रिय समाचार समिति (रासस)को सिन्धुपाल्चोक समाचारदाता भएर पनि काम गरेका थिए । जिल्लाकै पहिलो पत्रकारका रुपमा काम गर्नुभएका ताल्चाभँडेललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुपाल्चोक र नेपाल प्रेस युनियन जिल्ला शाखाले पनि सम्मान गरेका थिए ।
विसं २०२५ पछि पूर्णरुपमा राजनीतिमै सक्रिय भए । उनी विसं २०४३ मा प्रजातान्त्रिक समूहका तर्फबाट सिन्धुपाल्चोकको तत्कालीन नवलपुर गाउँ पञ्चायतको प्रधानपञ्च भएर काम गरेका थिए । ताल्चाभँडेलले विसं २०४९ र २०५४ मा पनि नवलपुर गाउँ विकास समितिको अध्यक्ष भएर काम गरेका थिए । ताल्चाभँडेल पछिल्लो समय नेपाल प्रजातन्त्र सेनानी सङ्घमा क्रियाशील थिए ।