धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत

आजभोलि

काठमाडौँ । निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ ।

पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । मर्मतका केही काम बाँकी रहेकामा अहिले भइरहेको प्राधिकरणका इञ्जीनियर सज्जन कुँवरले जानकारी दिए ।

सङ्खमूलबाट कपनसम्मको करिडोरमा हाल निलो पुल नजिकै पाँच–छ घर अधिग्रहण गर्न बाँकी रहेको इञ्जीनियर कुँवरले बताए । सो क्षेत्रमा जग्गा अधिग्रहण गरेर सडक खोल्न बाँकी रहेको छ भने बूढानीलकण्ठ नगरपालिका–२ मा पहिरो जाने खण्डमा पनि निर्माणको काम थोरै बाँकी रहेको छ । उनले भने, “झन्डै पाँच सय मिटर सडक खोल्न बाँकी छ ।”

करिडोरमा पर्ने पुल निर्माणको काम कुनै प्रदेश सरकार त कुनै सङ्घीय सरकारको डिभिजन सडक कार्यालयले गरिरहेका छन् । करिडोरमा प्राधिकरणले पैदलयात्रुमार्ग बनाएको थियो । विभिन्न संरचना निर्माणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणले पैदलयात्रुमार्ग भत्काएको छ । उनले भने, “जुन–जुन निकायले बिगार्ने र भत्काउने गरेको छ उसले नै बनाइरहेको छ । कतै भइसकेको छ र कतै भइरहेको छ ।”

करिडोरमा नै पुलमुनिको सडक (अन्डरपास)ले गर्दा मुख्य सडकको सवारी चाप व्यवस्थापनमा सहयोग पुगेको छ । यी अन्डरपासमा वर्षाको समयमा भने सडकमा पानी जम्ने समस्या छ । पुलमुनि पानी जाने ठाउँ नभएकाले वर्षाले सडक डुब्नु स्वभाविक भएको इञ्जीनियर कुँवरले बताए । आधा एक घण्टा पानी पर्दा सडक तत्काल डुबे पनि केही समयपछि पुनः पानी खोलामा गएर सडक चालु हुने गरी मिलाइएको उनले बताए । उनले भने, “सकेसम्म सडकमा पानी धेरै नजमोस् भनेर तर खोलाको सतह घटेपछि पानी हट्ने गरेर मिलाइएको छ ।”

पहिले झन्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना सुरु भए पनि पछिल्लो समयमा कार्यक्षेत्र विस्तार गरिएको छ । पहिले करिडोर योजनामात्रै रहेकामा हाल धोबीखोला करिडोर तथा कपन बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना बनाइएको छ ।

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले विसं २०५९ वैशाखमा सो करिडोरको निर्माण सुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालीन काठमाडौँ उपत्यका नगर विकास समिति)ले निर्माण गर्दै आइरहेको छ । करिडोरको निर्माण सम्पन्न हुन लागे पनि सडक अरु निकायको संरचनाका कारण यात्रुले सजिलोरूपमा हिँड्न पाइरहेका छैनन् । विगतमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गरेका थिए ।

सहरी विकास मन्त्रालयले धोबीखोलासँगै बागमती, मनोहरा, हनुमन्तेलगायतका नदीमा समेत करिडोर निर्माण अघि बढाइरहेको छ । नदीको दुवैतर्फ निर्माण हुने करिडोरले मुख्य सडकको जाम कम गर्न सहयोग गरेका छन् ।

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !