दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री दाहाल

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने तथा यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए ।

‘त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रले आआफ्नो जिम्मेवारी बोध गरी दिगो विकासअनुरुपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ,’ उनले भने । दिगो विकास लक्ष्य कार्यान्वयनमा तीनै तहका सरकारको महत्वपूर्ण जिम्मेवारी हुने भन्दै उनले संविधानले धेरै अधिकार र स्रोतसाधन प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको बताए ।

‘त्यसैले दिगो विकास लक्ष्य प्राप्तिमा समष्टिगत सरकारको अवधारणा अवलम्बन गर्नु जरुरी छ । सबै तहका सरकारको क्रियाशीलताबाट मात्रै दिगो विकासको सफल कार्यान्वयन भई अपेक्षित लक्ष्य प्राप्ति हुन सक्दछ,’ उनले भने, ‘त्यसैले दिगो विकास लक्ष्यलाई प्रदेश र स्थानीय तहमा स्थानीयकरण गर्न बलियो र प्रभावकारीरूपमा काम गर्ने संस्थागत संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ । साथै, ती लक्ष्य तथा सूचकलाई योजना, बजेट तथा कार्यक्रममा समाहित गर्दै तिनको कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्दछ ।’

अन्तर्राष्ट्रियरूपमा प्रतिबद्धता जनाएअनुरूप नै दिगो विकास लक्ष्य कार्यान्वयनमा सरकारको जोड रहेको उनको भनाइ छ । नेपालको संविधानमा मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीति र अन्य व्यवस्थामासमेत दिगो विकास लक्ष्य हासिल गर्न गर्नुपर्ने धेरै विषय समेटिएको र यसले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि आधार प्रदान गरेको बताए । ‘हामीले दिगो विकास लक्ष्यलाई चौधौँ योजनादेखि नै बजेट तथा कार्यक्रममा आन्तरिकीकरण गर्न सुरू गरेका थियौँ, चालु पन्ध्रौँ योजना पनि दिगो विकास लक्ष्यसँग सामञ्जस्य कायम गरी तयार गरिएको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गरेको भन्दै दिगो विकास लक्ष्यसहित मुलुकको गुणात्मक विकासलाई केन्द्रमा राखेर काम गर्न पनि सरकारका सबै निकायलाई निर्देशित गरे । सबै क्षेत्रसँगको सहकार्यबाटै कोभिड-१९ ले ल्याएका चुनौतीसमेत सामना गर्दै आजसम्मका उपलब्धि हासिल गर्न सफल भएको जनाउँदै उनले आगामी दिनमा पनि यस्तो सहकार्यलाई अझ बलियो बनाएर थप प्रगति गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरे ।

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !