नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

आजभोलि

नुवाकोट । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पुर्याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो ।

भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक सिन्दुरे जात्रा मनाए पनि धार्मिक गतिविधि र पूजाविधि भने आगामी वैशाख ३ गतेसम्म कायम रहने नेपाल सरकारका प्रतिनिधि एवं द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार सिन्दुर हालिसकेपछि भैरवीदेवी रथयात्रामा सहभागी धामी, धमिनीसहितको लावालस्करबाट पूजाविधि, भोज र भोगबलिमा सहभागी भएर आज बिहानसम्म पनि धार्मिक गतिविधि जारी छ ।

शनिबार साँझ द्वारे शाहीले धार्मिक विधिअनुसार धामी र धमिनीको माथमा सिन्दुर हालेर यस वर्षको सिन्दुरे जात्राको विशेष रौनक सकिए पनि भैरवी वर्ष बन्धन २०७९ को बाँकी प्रक्रिया र गतिविधि आगामी वैशाख ३ गतेसम्म जारी रहने बताए ।

सिन्दुरे जात्रा ‘सरकारी जात्रा’अन्तर्गत मनाइने भएकाले जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति हुने गरेको छ । यो जात्रा ‘सरकारी जात्रा’ भए पनि नुवाकोटवासीले यस जात्रालाई साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मान व्यक्त गर्दै उल्लासपूर्णरुपमा मनाउने गरेका छन् ।

जालपादेवी मन्दिरमा पुर्‍याएर फर्काइएको भैरवीको रथसहित धामी, धमिनी, कुमार, गणेशसहितको बाह्रभाई खलकको लावालस्करलाई नेपाली सेनाले सलामी अर्पणसहित भैरवीदेवी मन्दिरको निशाना झण्डा फहराउँदै बाजागाजासहित विशेष सम्मान दिने चलन छ ।

प्रसिद्ध जालपादेवी, भैरवीदेवीसहित जीवित भगवान्का रुपमा रहनुभएका धामीप्रतिको आस्था एवं सद्भाव राख्दै जात्राको अवलोकन गर्न यो वर्ष हजारौँको सहभागिता रहेको थियो । जात्रामा बूढापाका मात्र नभई युवा र बालबालिकाको समेत उल्लेख्य सहभागिताले जात्राको गरिमालाई उच्च बनाएको विदुर नगरपालिका–५ निवासी रामकृष्ण भट्टले बताए ।

चैत शुक्ल पूर्णिमाका दिनमा मनाइने भए पनि यस जात्रालाई ‘वैशाख शुल्क पूर्णिमाको जात्रा’, ‘धामी जात्रा’ देवीजात्रा लगायतको नामले पनि चिनिन्छ । भक्तजन तथा जात्रालु, तीर्थालुले दिदी जालपादेवी, बहिनी भैरवीदेवीसहित नुवाकोटका धामी, धमिनीको एकै स्थानमा दर्शन गर्न पाउने अवसरसमेत हरेक वर्ष चैत शुक्ल पूर्णिमामा जुर्ने गरेको छ ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !