उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक

आजभोलि

काठमाडौं । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक बनाइएकी छन् ।

गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो ।

उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो । तर अस्पतालमा उपचारवापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान पाएकी छैनन् । उनी अस्पतामै तीन छोराछोरीसहित बन्धकमा छिन् ।

उनले अस्पताललाई उपचारवापतको रु ६ लाख ६९ हजार तिर्न बाँकी छ। सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन पाएकी छैनन्। उनीसँगै वृद्ध ससुरापनि अस्पतालमै छन् ।

हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ ?) मन्तोरिया रायले रुँदै भनिन् ।

कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन् । बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा ६१ प ६६३३ नंको मोटरसाइकलले उनलाई ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी मन्तोरियालाई मोटरसाइकलले ४०–५० मिटर परसम्म घिसारेको थियो । यसरी सडकमा घिसारिएपछि उनको शरिरको विभिन्न भागमा चोट लाग्यो ।

मोटरसाइकल धनुषाकै सहिदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए । सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए । चालक राय तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् ।

‍चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएन न्। दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए ।

अङ्गभङ्ग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन् । मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै रु १० लाख अस्पताललाई तिरेको छ । तर बाँकी पैसो तिर्न उनीसित कुनै उपाय छैन । मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आएकी छन् ।

सुरुमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन् ।

अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ । उनीसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमामै बस्न बाध्य छन् । रामप्रसादले जसोतसो बुहारीको हेरचाह गरेका छन्, तीन नाति–नातिना सम्हालेकी छन् ।

मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् । गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै थिइन् तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन् ।

अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिय अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए । मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ । केही भाग आन्द्रा काटेर हटाइएको छ । दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ । दायाँ हात पनि भाँच्चिएको थियो ।

अस्पतालका व्यवस्थापक मण्डलले भने, जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो । बाँच्ने अवस्था न्यून थियो । तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पार्‍यौँ । दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ, ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ।

मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारीराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझेका छन् । उनले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिएका छन् ।

नगरप्रमुख यादवले भने, यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौँ, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौँ । यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो। टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ ।

  • २८ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !